विद्यालयहरू पहुँचयुक्त नहुँदा समावेशी शिक्षा कार्यान्वयनमा चुनौती
चितवन । विद्यालयहरू अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त हुन नसक्दा समावेशी शिक्षा कार्यान्वयनमा चुनौती देखिएको सरोकारवालाले बताएका छन् । भरतपुरमा शनिबार अटिजम केयर चितवन सोसाइटीले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सरोकारवालाले अपाङ्ता भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनुपरेको बताएका हुन् ।
अन्तरक्रियामा परियोजना संयोजक सुशील मगर र ह्याण्डीक्याप इन्टरनेशनलका सुपरभाइजर रमेश बरालले समावेशी शिक्षाबारे सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो । विद्यालयमा अध्ययनरत कार्यगत सीमितता भएका बालबालिकाहरूको वैयक्तिक शैक्षिक योजना निर्माण गरी बालबालिकालाई थप सहयोग गर्न समेत चुनौती देखिएको परियोजना संयोजक सुशिल मगरले बताउनुभयो ।
पहुँचयुक्त भौतिक संरचनाको अभावले पनि अपाङगता भएका बालबालिकाहरुमा शिक्षाको पहुँचमा पुग्न समस्या रहेको परियोजनाका संयोजक मगरले बताउनुभयो । शैक्षिक व्यवस्थापन सूचना प्रणाली २०७८ को प्रतिवेदन अनुसार आधारभूत तह विद्यालय उमेर समूहका ३.१ प्रतिशत बालबालिकाहरु शिक्षाको पहुँच बाहिर रहेका छन् ।
यसका साथै ह्याण्डीक्याप इन्टरनेशनलका परियोजना सुपरभाइजर रमेश बरालले राज्यले सबैका लागि अनिवार्य र निःशुल्क शिक्षा भनिएपनि अझै पनि विद्यालयमा अपाङ्गता र सिकाइ कठिनाइ भएका बालबालिकाहरुको सहज शिक्षा सुनिश्चितता नदेखिएको बताउनुभयो । आफूले आवाज उठाउन नसक्ने बालबालिकाहरूको अधिकार सुनिश्चिताका लागि सञ्चारमाध्यामले पनि आवाज उठाउन आग्रह गर्नुभएको छ ।
ह्याण्डीक्याप इन्टरनेशनलका परियोजना सुपरभाइजर रमेश बरालले भरतपुर जस्तो सचेत स्थानमा पनि जटिल चुनौती रहेको बताउँदै भन्नुभयो “अपाङ्गता भएका बालबालिका साङ्लोमा बाधिएर बस्नुपरेको छ । परिचयपत्र पाउनबाट बञ्चित हुनुपरेको छ । विद्यालय शिक्षाबाट बञ्चित हुनुपरेको छ ।”
इन्क्लुसिभ फ्युचर्स, ह्याण्डीक्याप इन्टरनेशनल र युके एडको सहयोगमा अटिजम केयर चितवन सोसाइटीले चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना संचालन गरेको छ ।
कार्यगत सिमितता भएका, सिकाइ कठिनाइ भएका, अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी शिक्षा आवश्यकताका लागि संस्थाले विभिन्न काम गर्दै आएको छ ।
यस परियोजनाले शिक्षकको क्षमता अभिवृद्धि, विद्यालयलाई शैक्षिक सामग्री सहयोग, विद्यालयहरुलाई सूचना सञ्चार तथा प्रविधि सामग्री सहयोग, अफलाइन डिजिटल पुस्तकालय सञ्चालन लगायतका काम गरिरहेको छ ।
परियोजनाले भरतपुर र कालिका नगरपालिकामा रहेर समावेशी शिक्षा परियोजनाले हालसम्म विद्यालय र बाहिरको सिकाइ प्रभावकारी बनाउन ७ सय ८५ जना शिक्षक र दुई हजार भन्दा बढी अभिभावकलाई अभिमुखीकरण गरेको परियोजनाका प्रतिनिधिले बताएका छन् । परियोजनाले भरतपुर महानगर र कालिका नगरपालिकाका १ सय ४५ विद्यालय र ७ वटा स्रोत विद्यालय र ३ वटा विशेष विद्यालयमा काम गरिरहेको छ ।