जिल्लामा नै पहिलो पटक भीमसेन मा.विमा ‘योग तथा ध्यान’ कक्ष स्थापना ।
विश्व ध्यान दिवसको अवसरमा नवलपुरको देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले योग तथा ध्यान कक्ष स्थापना गरेको छ । शनिबार भीमसेन आदर्श नमूना मा.वि को सभाहलमा एक कार्यक्रमको आयोजना गरि योग तथा ध्यान कक्ष स्थापना गरेको हो । विद्यालयमा विभिन्न कक्ष निर्माण गर्ने क्रममा विद्यार्थीलाई पढाई सँगै योग तथा ध्यानमा विशेष जोड दिने उद्धेश्यका साथ विद्यालयमा योग तथा ध्यानलाई निरन्तरता दिइएको हो । पछिल्लो समय योग विषयको पाठ्यक्रमलाई नेपाल सरकारले अगाडि बढाउँदै गर्दा देवचुलीको भीमसेन मा.विले पहिलोपटक योग शिक्षालाई अगाडि बढाएको छ । विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले ध्यान र योगले शरीरलाई मात्र नभएर मन मस्तिष्क समेत स्वस्थ हुने र मानिसलाई असल काममा लाग्न प्रेरक बन्ने हुनाले यसलाई विद्यालयको पाठ्यक्रममा जोड्न जिल्लामा नै पहिलो पटक विद्यालयले योग कक्ष स्थापना गरेको बताउनुभयो । उहाँले प्रत्येक दिन विद्यार्थीलाई पठाईसँगै योग र ध्यानलाई पनि निरन्तरता दिने बताउनुभएको छ । यता विद्यार्थीहरु पनि योग तथा ध्यान कक्षमा सरिक हुन पाउँदा आनन्द महशुस भएको बताउनुहुन्छ । योग र ध्यानले आँफूहरुमा भएको तनाव हटेर जाने साथै अनुशासित हुन पनि महत्वपूर्ण भूमिका खेल्ने विद्यार्थीहरुले सुनाएका थिए ।