पर्यटन र कृषिमा लगानी बढाउन निजी क्षेत्रलाई मुख्यमन्त्री पाण्डेको आग्रह
नवलपरासी (वर्दघाट सुस्तापूर्व) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धनबाट नै गण्डकी प्रदेशको आर्थिक चलायमानको पाटो समृद्ध हुने बताउनुभएको छ । सोमबारदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट २ नारायणी किनारमा सुरु भएको दोस्रो गण्डकी महोत्सवमा मुख्यमन्त्री पाण्डेले गण्डकीको पर्यटन र कृषि क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ ।
निजि क्षेत्रको सहयोगका लागि गण्डकी प्रदेश सरकार तयार रहेको समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो । आफ्नै प्रदेशको क्षेत्र त्रिवेणी नाकासम्म पुग्नका लागि लुम्बिनी प्रदेश हुँदै जानुपर्ने बाध्यता छिट्टै अन्त्य गर्न गण्डकी प्रदेश सरकार लागि रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा नारायणी तटबन्धनका लागि केन्द्र सरकारले विभेद गरेको मुख्यमन्त्री पाण्डेले आरोप लगाउनुभएको छ । वाग्मती प्रदेशको चितवन तर्फ तटबन्धनमा केन्द्र सरकारले बढी लगानी र गण्डकी प्रदेश तर्फ कम लगानी गर्ने गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । पहुँचकै आधारमा चितवनमा ७० प्रतिशत योजनाको रकम लगानी हुने अनि नवलपुरमा ३० प्रतिशत मात्रै लगानी हुनु केन्द्र सरकारले गरेको विभेद भएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
नारायणगढ बुटवल सडकखण्डमा तीव्रताका साथ काम नहुँदा गण्डकी प्रदेशको पर्यटन र समृद्धिमा असर पुगेको मुख्यमन्त्री पाण्डेले संकेत गर्नुभयो । मुग्लीन पोखरा सडकखण्ड तीव्रताका साथ काम हुन सक्ने तर नारायणगढ बुटवल सडकले भने तीव्रता पाउन नसक्नु चिन्ताको विषय रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ ।
दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव मंसिर १० गतेसम्म हुने छ । गण्डकी प्रदेशको व्यवसाय विस्तारको सभावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभएको छ । मेला अन्तर्गत करिब ३ सयवटा स्टलहरु रहने जनाइएको छ । मेलाको मुख्य आकर्षणको रुपमा नेपालमै पहिलो पटक एसी अण्डरवाटर फिस टनेल राखिएको छ ।