पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमायो – नेपाल पत्रकार महासंघ

२०८१ कार्तिक १२ सोमबार १३:१४:०० मा प्रकाशित


नवलपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमाएको बताएको छ । सोमबार महासंघले शोक वक्तव्य जारी गर्दै विजय एफएमका सहायक स्टेशन म्यानेजर क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको बताएको छ ।

वक्तव्यमा भनिएको छ “ नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य प्रेमबहादुर क्षेत्रीको ह्दयघातका कारण ३७ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।”

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “ नेपाल पत्रकार महासंघ स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।” पत्रकार महासंघ चितवन शाखाले पनि आइतबार पत्र मार्फत समवेदना प्रकट गरेको थियो ।  


अचानक छाती दुखेपछि उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पु¥याइएका क्षेत्रीको उपचारको क्रममा कात्तिक १० गते शनिबार राति सोही अस्पतालमा निधन भएको थियो ।  विगत १७ वर्षदेखि पत्रकार क्षेत्री विजय एफएम १०१.६ र विजय खबर पत्रिकामा कार्यरत रहेका थिए ।