विकू सहकारीको ३५औँ साधारणसभा, ज्ञान, विज्ञान र नवप्रवर्तनका कार्यक्रममा जोड  

२०८१ असोज १२ शनिबार १७:३४:०० मा प्रकाशित

गैँडाकोट । सामाजिक रुपान्तरणका लागि प्रतिवद्ध नेपालकै नमुना संस्थाका रुपमा स्थापित विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३५ औँ साधारण सभा जारी छन् । ईकाईगत रुपमा शुक्रबार चितवनका दुई स्थानमा साधारण सभा गरेको विकुले शनिबार गैँडाकोटका दुई स्थानमा एकै साथ साधारण सभा गरेको छ भने आइतबार समेत कावासोती र मध्यविन्दुमा ईकाईगत साधारण सभा गर्दै छ । 

आजभन्दा ३४ वर्ष अघि ५० पैसाबाट बचत शुरु गरेको विकू बचत तथा ऋण सहकारी संस्थामा हाल १ लाख २१ हजार सदस्य रहेका छन् । बिकूमा हाल साढे १० अरब रुपैयाँको वित्तीय कारोबार रहेको छ । २४ वटा सेवा केन्द्रमाफर्त वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गदै आएको छ ।  

विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूले सदस्य सेवा, सम्यक् भाव र सुशासनको पूर्ण परिपालना गर्दै ज्ञान, विज्ञान र नवप्रवर्तनका कार्यक्रमलाई जोड दिएको बताउनुभयो । सदस्य र सहकारीबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिदैँ उहाँले भन्नुभयो, “सदस्य छन् त सहकारी छ, सदस्य छैनन् त सहकारी पनि छैन, त्यसकारण सहकारी बोक्रा हो भने सदस्य गुदी हुन् ।” सदस्यको साथ र सहयोगले गर्दा नै विकू नेपालकै नमुना संस्थाका रुपमा स्थापित हुन सफल भएको उहाँको भनाई थियो । 

संस्थाका सचिव गोविन्द कँडेलले आर्थिक वर्ष २०८१÷८२ का लागि वित्तीय कार्यक्रमहरुतर्फ सेयर सदस्य विस्तार, अध्ययन तथा अवलोकन, रेमिट्यान्स सेवा, प्रविधि र पूर्वाधार, जगेडा कोषमा आधारित वित्तीय संरचना, स्तरीकरण, प्रबल विश्लेषण, एकिकृत प्रविधि सेवा, एटिएम सेवा विस्तार, सेवा विशिष्टीकरण सदस्य स्वागत तथा सम्मान, भौतिक पूर्वाधार, कृषि क्षेत्रको प्रवद्र्धन, उद्यमशिलता प्रोत्साहन र स्थानीय तह, निकाय तथा संघ संस्थासँगको सहकार्य गरी १५ शिर्षकमा विभिन्न प्रकारका नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । त्यस्तै गैर वित्तीय कार्यक्रमतर्फ विभिन्न २१ शिर्षकमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । उहाँले युवासँग विकू–कर्णधार कार्यक्रम, महिलासँग विकू–सम्भयता कार्यक्रम, जेयष्ठ÷अग्रज सदस्यसँग विकू–आशिर्वाद कार्यक्रम र विकू आरोग्य कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो । 

कोषाध्यक्ष पुष्पराज बरालले कुल सम्पत्ति गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भई १० अरब २२ करोड, १७ लाख ५९ हजार ५ सय १४ पुगेको बताउनुभयो । गत आर्थिक वर्षमा १९ करोड ४२ लाख ८६ हजार ९ सय ४ रुपैयाँ मुनाफा गरेको उल्लेख गर्नुभयो । १ लाख २१ हजार ६ सय ४९ सेयर सदस्यको ८९ करोड १० लाख ९८ हजार ९ सय सेयर पूँजी रहेको बताउनुभयो ।   

लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले विकू सहकारीमा अग्रणी एवं सबल संस्थाको रुपमा आफ्नो छवि कायम गर्न सफल भएको बताउँदै संस्थाले प्राप्त गरेको शाख जोगाउन सोही अनुरुप कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो ।

विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गतवर्ष कुनैपनि बैंक, वित्तीय तथा सहकारी संस्थामा सदस्य नभएका ११०९ जनालाई विकूको सदस्य बनाईएको जानकारी दिनुभयो । उहाँले वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता, प्रविधि साक्षरता र वित्तीय समावेशिताका पक्षमा अभियान सञ्चालन गर्दै अघि बढेको बताउनुभयो । 

साधारण सभा कार्यक्रमका अतिथि एवं सदस्यहरुले सबैमा सहकारीको भावना विकास गराई सदस्यलाई खुसी राख्न सुझाब दिएका थिए ।