विजय सामुदायिक शिक्षा सहकारीको साधारण सभा, नयाँ नेतृत्व चयन गरिदैँ 

२०८१ असोज ३ बिहीबार १७:५३:०० मा प्रकाशित

गैँडाकोट । विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ भने ८ औँ अधिवेशन प्रक्रिया शुरु भएको छ । सहकारीले गैँडाकोट ५ मा कक्षा १२ सम्मको विद्यालय विजय सामुदायिक शिक्षा सदन सञ्चालन गरेको छ ।  

विद्यालयको सभाहलमा भएको कार्यक्रममा विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज सापकोटाले संस्थाले सञ्चालन गरेको विजय सामुदायिक शिक्षा सदन यस क्षेत्रकै अग्रणी विद्यालयको रुपमा रहेको र त्यो गरिमा कायम राख्ने बताउनुभयो । विजय सामुदायिक शिक्षा सहकारी/विजय सामुदायिक शिक्षा सदन प्रालिको नेतृत्वमा विभिन्न शैक्षिक संस्थाहरुको सहकार्यमा युनाइटेड तक्षशिला स्थापना गरिएको समेत उल्लेख गर्नुभयो । उहाँले विद्यालयले अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त गर्नु, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा विभिन्न विद्यालय र संस्थासँग समन्वय गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुले विद्यालय अब्बल रहेको पुष्टि गर्ने समेत बताउनुभयो ।  

संस्थाका सचिव वीरभद्र सापकोटाले सरकारी नीति स्पष्ट नभएकै कारण सहकारीमार्फत सञ्चालित विद्यालयलाई कम्पनीमा दर्ता गरी सञ्चालन गर्नु परेको बताउनुभयो । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयमा प्रत्यक्ष लगानी वृद्धि गर्ने, व्यवस्थापनमा सुधार गर्ने, शिक्षक कर्मचारी र व्यवस्थापन समितिको क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । उहाँले शैक्षिक विकासलाई अबका दिनमा जोड दिइने बताउँदै भौतिक भन्दा धेरै शैक्षिक विकास गरिने बताउनुभयो । 

यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष लक्ष्मण कार्कीले विद्यालयको पूँजी बढाउन, विद्यार्थीलाई शैक्षिक गुणस्तर बढाई सुबिधा दिन, नाफा भन्दा शैक्षिक गुणस्तरलाई ध्यान दिएर अगाडी बढेको उहाँको भनाई थियो । तथापी विद्यालयको आर्थिक गतिविधिलाई विश्लेषण गर्दा दुवै संस्थाको संयुक्त कुल आम्दानी ६ करोड ३ लाख ३० हजार ८ सय ४२ रहेकोमा बचत ४१ लाख ७६ हजार ६० रुपैयाँ रहेको जानकारी दिनुभयो ।  

विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले विद्यालयको शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराउँदै १३५४ विद्यार्थी र ८९ जना शिक्षक कर्मचारी रहेको बताउनुभयो । विद्यार्थीहरुको सिकाई उपलब्धी अझै माथी उठाउन विविध कार्यक्रम सञ्चालन गरिने बताउँदै शैक्षिक गुणस्तर सुधारका लागि आगामी योजना र लक्ष्य पेश गर्नुभएको थियो । शैक्षिक गुणस्तर बढाउन विभिन्न निकायसँग समन्वय गरी अबका दिनमा अगाडी बढ्ने बताउनुभयो । 

लेखा सुपरिवेक्षण समिति संयोजक बेदप्रसाद गौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै सेयर लाभांश प्रदान गर्न, भौतिक भन्दा शैक्षिक विकासमा जोड दिन सुझाव दिनुभयो । आफ्नै जग्गा, भौतिक संरचना, गुणस्तरीय शिक्षा, विद्यालयले सञ्चालन गरेका कार्यक्रमकै कारण अब्बल रहेको उल्लेख गर्दै त्यो गरिमा कायम राख्न जोड दिनुभयो । 

प्रमुख अतिथि गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले विजय सामुदायिक शिक्षा सहकारी राम्रो सहकारीका रुपमा स्थापित रहेको बताउनुभयो । सहकारीका विषयमा सदस्यले चासो व्यक्त गर्नुपर्ने बताउँदै गैँडाकोटमा सहकारीमा समस्या आउन नदिने गरी सुक्ष्म तरिकाले अध्ययन गर्न नगरपालिकाका कर्मचारीलाई आवश्यक निर्देशन दिएको बताउनुभयो । 

आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले सहकारीमा समस्या आउन नदिनतर्फ सदस्य चनाखो भइ प्रश्न गर्न सुझाव दिनुभयो । 

संस्थाका संस्थापक अध्यक्ष केशवप्रसाद सापकोटाले शिक्षा ऐन तथा सहकारी ऐनमा भएको अस्पष्टताले विजय सामुदायिक शिक्षा सदन कम्पनीका रुपमा दर्ता गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

कार्यक्रममा पूर्वअध्यक्ष माधवप्रसाद पौडेल, गैँडाकोट ७ का वडाध्यक्ष होमनाथ सापकोटा, विकू सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटा, सेयर सदस्य इश्वरीप्रसाद चापागाईले शैक्षिक प्रगतीको शुभकामना मन्तव्य सहित सुझाव राख्नुभएको थियो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष परमेश आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

८औँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेल संयोजक, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा र विकूका उपाध्यक्ष कालिदास गौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ ।