हरेक घर वैदिक वास्तुमय बनाउने अभियान

२०८१ असार १८ मंगलबार ११:३४:०० मा प्रकाशित

गैँडाकोट । ज्योतिष तथा वास्तुशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धानको विषयमा बिभिन्न कार्यहरु गर्दैआईरहेको नेपालको मूल संस्था नेपाल ज्योतिष परिषद केन्द्रीय वास्तु विभागको आयोजनामा १ हप्ते अनलाईन आधारभूत वास्तुशास्त्र कक्षा सम्पन्न भएको छ । नेपाल, भारत, भुटान, अमेरिका, दुबई लगायत देशहरुबाट ३५० जना भन्दा बढी प्रशिक्षणमा सहभागी भएका थिए ।

वास्तुशास्त्र कार्यक्रमका मुख्य प्रशिक्षक वास्तुशास्त्री ईन्जिनियर लक्ष्मी प्रसाद सोती रहनुभएको थियो । डेढ दशक वास्तुशास्त्र र इन्जिनियरिङ क्षेत्रमा काम गरिसकेका केन्द्रीय वास्तु विभागका प्रमुख समेत रहनुभएका सोतीले पछिल्लो समय नेपाली भू–बनोट र धरातलमा आधारित वास्तु हिमवत खण्डको बिषयमा लामो अनुसन्धान गर्नुभएको छ ।   

समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा. लोकराज पौडल हुनुहुन्थ्यो । 

परिषदका केन्द्रीय अध्यक्ष ज्यो. माधवराज पाण्डेले ऋषिमुनीहरुले सुख शान्ति सफलता प्राप्त गर्ने हेतुले प्रतिपादन गरेका वास्तु ज्ञान सबै नेपालीहरुले जान्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा आम जनमानसमा वास्तुको चेतना र चासो बढ्दै गईरहेकोले सबैले यसको आधारभूत ज्ञान लिनु आवश्यक रहेको छ, अहिले वास्तुशास्त्रका नाममा रातारात मालामाल हुने भईने भन्दै अनावश्यक प्रचारबाजी, व्यापार समेत भईरहेको अवस्थामा यो सम्बन्धी ज्ञान लिएर यथार्थ के हो ? यो कस्तो शास्त्र हो भन्ने बिषयमा समेत छर्लंग हुन आवश्यक छ ।”

वास्तु भनेको आफु रहेको भूमि अनुसार नै फरक हुने हँुदा नेपाल यनकी हिमवत खण्डमा लागुनै नहुने, अन्य देशहरुको आयातित वास्तु, शास्त्रको बिधान विपरितको वास्तु, नेपालको जमिन विपरितको वास्तु र शास्त्रमै उल्लेख नभएका कार्बन उत्सर्जन गर्ने, प्रकृति माटोलाई असर पुर्याउने वास्तु रेमिडिजको प्रयोग हुनबाट जोगाउनु एकदमै आवश्यक देखिन्छ नत्र जनमानसमा वास्तु सम्बन्धि दुबिधा पर्ने देखिन्छ तसर्थ वास्तुशास्त्रको सही ज्ञान आम जन मानससम्म पुग्न सहयोग हुने हेतुले यो कक्षा संचालन भएको प्रमुख प्रशिक्षक एवम् कार्यक्रम सभापति सोतीले बताउनुभयो । “हरेक घर वैदिक वास्तुमय बनाउने हाम्रो अभियान” का साथ यो अभियान सुरु गरिएको छ । 

यस्ता किसिमका प्रशिक्षण कार्यक्रमहरु नेपाल ज्योतिष परिषद्ले आगामी दिनहरुमा पनि गर्दै जानेकुरा केन्द्रीय कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक भुपेन्द्रराज घिमिरेले बताउनुभयो ।