गैँडाकोट र देवचुलीका नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम प्रदान 

२०८१ जेठ २४ बिहीबार १६:५०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट र देवचुलीका नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा गैँडाकोट नगर अस्पतालमा देवचुलीका १० जना र गैँडाकोटका ६ जना गरी १६ जनालाई १० दिने आधारभूत तालिम प्रदान गरिएको हो । 

गाउँ–गाउँमा स्वास्थ्य क्षेत्रमा खटिने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायमा गर्नुपर्ने काम जिम्मेवारीसँगै २५ बढी स्वास्थ्य सम्बन्धी विषयमा १० दिनसम्म आधारभूत तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो । बिहीबार समापन सत्रमा उहाँले स्वास्थ्य स्वयंसेविकाहरुलाई आफैँ चिकित्सक बन्नु भन्दा पनि आफ्नो काम कर्तव्य अधिकार नभुल्न सचेत गराउनुभयो ।

 

स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेषगरी स्वास्थ्य स्वयंसेविका कार्यक्रम, स्वास्थ्य आमा समूह, सञ्चार, प्रजनन स्वास्थ्य, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोगको एकीकृत व्यवस्थापन, खोप, पोषणबारे जानकारी गराइएको छ । त्यसैगरी किशोर अवस्था र महिनावारी, स्वास्थ्य तथा सरसफाई, प्रजनन रुग्णता, जेष्ठ नागरिक, यौन तथा यौनजन्य रोगहरु, किटजन्य रोगहरु, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरु, व्यक्तिगत सरसफाई लगायत जनस्वास्थ्य अभियानबारे समेत अभिमुखिकरण गरिएको थियो । यसको अलवा अभिलेख तथा प्रतिवेदन, प्राथमिक उपचार लगायत कानुनी तथा नीतिगत अवस्थाबारे जानकारी गराइएको स्वास्थ्य कार्यालय नवलपुरका पब्लिक हेल्थ नर्स भूमिका निरौलाले जानकारी दिनुभयो । 

तालिममा स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत मुक्तिनाथ भट्टराई, गैँडाकोट नगर अस्पताल प्रमुख, जनस्वास्थ्य निरीक्षक पुष्पराज श्रेष्ठ, गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्य, अमरापुरी स्वास्थ्य चौकी प्रमुख, जनस्वास्थ्य निरीक्षक रुबी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 

स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख शैलेन्द्र कुमार सिंहले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिममा सिकेका कुरा व्यवहारत कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । 

स्वस्थ्य स्वयंसेविकाहरुले तालिम पश्चात भोलीका दिनमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई कार्यान्वयनमा लैजाने बताएका थिए । १० दिनसम्म सिकेका कुरा र तालिमको अनुभव सेयर गदै सबै स्वस्थ्य स्वयंसेविकाहरुले आवश्यक उपकरण सामग्री उपलब्ध गराइदिए अझै सहज हुने बताएका थिए ।

तालिमबाट स्वस्थ्य स्वयंसेविकामा उपचार विधिमा प्रभावकारिता आउने विश्वास गरिएको छ । स्वास्थ्य कार्यालयहरुले स्वस्थ्य स्वयंसेविकाहरुमाफर्त गाउँ तहमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।