जीवनको पाठशालामा आमा

२०८१ बैशाख २५ मंगलबार १५:५३:०० मा प्रकाशित

विष्णु पन्थी ‘विनु’
गैँडाकोट –२,नवलपुर 

      
जीवनको यात्रा गतिशील हुन्छ । गतिशील यात्राले नै समयअनुसार मानिसका नयाँ–नयाँ मार्ग तय गरेको हुन्छ । समयअनुसार आफूलाई परिवर्तन गर्दै लैजानु मानिसको धर्म हो । जब मानिस समयलाई चिन्दै जान्छ तब उसले समयसगैँ धेरै कुरा सिक्दै जान्छ । त्यही भोगेको कुरालाई सिकाइको रुपमा लिन्छ । त्यसैले भनिन्छ, जीवन एउटा पाठशाला हो । बुढापाकाको भनाइ छ, “कसैले पढेर जान्दछ, कसैले परेर जान्दछ ।” धैर्यता र सहनशीलताकी प्रतिमूत्र्ति, निःस्वार्थ ममताकी खानी हरेक आमाका प्रतीक नै हुन्, अपवाद स्वरुप । त्यही परेर, भोगेर मेरो पाठशालाको हरेक किताबका खुल्ला पाना बनेकी छिन् मेरी आमा ।

अटल, धैर्यता, सहनशीलता, ममताको लागि जीवनको पाठशालामा मेरी आमालाई मैले पहिलो स्थानमा राखेकी छु । रातमा आकाशका तारा र दिनमा आफ्नै छायाँलाई हेरेर समय पहिचान गरेकी अनाक्षरिक (सामान्य अर्थमा अशाक्षर) तर शिक्षित हुन् मेरी आमा । समयलाई चिन्न सक्ने हुन् । समयको गतिसँगै आफूलाई परिवर्तन गर्दा तत्कालीन् समयमा विभिन्न चुनौती भोग्नु पथ्र्यो । सबैले मेलापात छोराछोरीलाई अगाडि पछाडि लगाएर जाँदा आफ्ना छोराछोरीलाई स्कूल पठाएको कुरालाई लिएर टिकाटिप्पणी गर्ने समाज अनि समय थियो । त्यो ठाँउ अनुसार त्यसको प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आइ लागेका समस्याको  सामना गर्न सक्ने सामथ्र्य थियो मेरी आमामा ।

तत्कालीन समयमा गाउँमा त्यति छोराछोरीलाई पढाउने चलन थिएन । ५÷६ कक्षा पढाएर छोरालाई भारत पठाउने चलन थियो । छोरीलाई त पढाउने कुरै थिएन यदाकदा एक दुई कक्षाबाहेक । पढाउने बावु आमा तथा छोराछोरीले हरेक चुनौतीको सामना गर्नु पथ्र्यो । त्यो पनि दुई चार घर मात्र । 

तत्कालीन अर्घाखाँची जिल्ला खनदह गा.वि.स. वडा नम्बर ९ थियो मेरो जन्म ठाँउ । मेरो एकजना दाजु र मलाई म जन्मिएको ३५ दिनको दिन अंश बन्डा गर्दा बुवालाई परेको अंश सोही जिल्लाको खन गा.वि.स वडा नम्बर ६ पोख्र्याचौर लिएर आउनु भएको रैछ आमा बुवाले । पोखरी भएको ठाउँनेर सानो चौर पनि भएको हुँदा यो ठाँउको नाम पोख्र्याचौर राखिएको हो भन्नु हुन्थ्यो त्यहाँका पुराना पञ्चायतका वडा अध्यक्ष बुढापाका कान्छ बुबा भन्ने मान बहादुर क्षेत्रीले । बाल्यकाल त्यही बित्यो । 

घरदेखि करिब ४५ मिनेट पैदल हिडेर पुग्ने निन्यूखर्क भन्ने ठाँउमा थियो पाँच कक्षासम्म पढाइ हुने विद्यालय । माध्यमिक विद्यालयको लागि करिब डेढ–दुई घण्टा उकालो ओरालो कतै केही भाग जङ्गल  भएर डिभर्ना विजय माध्यमिक विद्यालयमा जानु पथ्र्यो ।

पहिलो वर्ष स्कूल जाऊ भनेर आमाबुवाले कर गर्दा म केहीदिन गएर मानिनछु । किनकी मेरा छिमेकी कोही पनि केटी साथी थिएनन् । अर्को साल सरस्वती पूजाको दिन नाम लेखाएर आएको छु । बैशाखदेखि पढ्न जानुपर्छ भनेको सपनाजस्तो स्मरण छ मलाई मेरो बुवाको । बैशाखमा आमाले वरपरका आमाहरुसँग  केटीहरूलाई स्कुल पठाउनु पर्छ भनेर सबैलाई जोड गरेर मेरो लागि केटी साथी बनाइदिनु भयो । बिस्तारै मेरा ती कक्षाका सहपाठी साथीहरु दुई कक्षाबाटै क्रमिक रुपमा पढाई छाड्न थाले । आफूले पढ्ने अवसर नपाए पनि दुःख गरेरै भए पनि दश पास गराउनु पर्छ छोराछोरी भन्ने दृढ संकल्प लिनु भएको थियो बुवा आमाले । आफूलाई काम र दामको दुःख हुँदापनि हामीलाई कहिल्यै देखाउँनु भएन ।

वडा नम्बर ६ बाट छात्र तर्फ मेरो दाजु र छात्रा तर्फ म नै पहिलो एसएलसी दिने र नियमित पास गर्ने विद्यार्थी थियौँ । सबैले छोरी पढाएर के काम, विवाह गरेर नपठाएर । छोराछोरी हुने बेलासम्म पढाएर छोरीका छोराछोरी गुमाई दियौँ माहिली भनेर आमालाई सियो घोचिरहन्थे गाउँका महिलाहरु । कसैका कुरा नसुनी दुःख गरेरै भए पनि छोराछोरीलाई पढाउँछौँ भन्ने आमा बुवाको हठले म र दाजुलाई नियमित  विद्यालय पठाउनु भयो । आमा बुवा दुबैको सल्लाहअनुसार । त्यो बेलामा विशेष गरी महिलाहरु छोरा मान्छेहरूलाई चिठी लेखाउन अप्ठ्यारो मान्थेँ । सबैका चिठी मेरो दाजुले लेख्नु हुन्थ्यो । आएका चिठी पनि वाचन गरिदिनु हुन्थ्यो । छोरालाई चिठी लेखाउँदा सबै कुरा भन्न लाज लाग्छ अब त तिमीले लेखन भनेर मलाई सबै महिलाहरुले भन्न थाल्नु भएको थियो । गाउँमा एउटा लाहुरे आएर फर्किने बेलामा सबैका चिठी लेख्नु पथ्र्यो । बिचबिचमा हुलाकमार्फत पठाउने चलन पनि थियो । सबैको आग्रहलाई सुनेर आमाले लेख, म सिकाउँछ भन्नु भयो । मलाई पहिलोपटक चिठीको व्यहोरा लेख्न मेरी आमाले म दुई कक्षामा पढ्दा सिकाउनु भयो । शुद्ध अशुद्ध के लेखेँ थाहा भएन् । त्यो पनि बुवालाई लेखेर हुलाक मार्फत मैले नै पठाएँ । चिठीको व्यहोरा थियो, ‘शोस्ती श्री छ श्री आज्ञा त्यहाँ राज गरी बस्नु भएको मेरो श्रीमानमा शिर निहुराई ढोग छ । हामी यहाँ आजको दिनसम्म सकुशल छौँ । हजुर पनि त्यहाँ सकुशल रहनुहोला भनि उनै भगवान श्री पशुपतिनाथसँग शिर निहुराई दश औँला जोडी प्रार्थना गरी बसेका छौँ । आशा छ भगवानले हजुरको कल्याण गर्नुहुन्छ ।’.....।  

यो मेरी आमाको भाषा अनि मलाई लेख्न सिकाएको चिठीको व्यहोरा २०४३ साल तिरको थियो । त्यो दिनदेखि गाउँका आमा, दिदी ,भाउजूहरु आएर मलाई सुटुक्क चिठी लेखाएर हुलाकमार्फत पठाउन पनि लगाउनु हुन्थ्यो । नबुझेको भाषा मिलाएर लेख्न मलाई मेरी अनाक्षरिक आमाले शिक्षित भाषामा लेख्न सिकाउनु भएको थियो। त्यसै बेलादेखि मेरी आमाका हरेक कुरा सिक्दै आएकी छु । चोर्दै आएकी छु । त्यसैले त्यो बेलादेखि मेरो जीवनको पाठशाला मेरी आमा नै हुनुहुन्छ । मैले हरेक कार्य गर्दा पहिले मेरी आमा र उहाँको संस्कारलाई सम्झेर कार्य शुभारम्भ गरेकी हुन्छु ।