आजबाट सोह्रश्राद्ध प्रारम्भ, तर्पण र दान गरेर दिवंगत पितृको सम्झना गरिँदै
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू हुँदैछ ।
सोह्रश्राद्ध आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।