लक्ष्मी माविको पत्रकार सम्मेलन : विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया नगरको सुझाब अनुसार गरेका हौँ

२०८० जेठ १२ शुक्रबार १७:२८:०० मा प्रकाशित


नवलपुर । विद्यालय व्यवस्थापन समितिका विषयमा उत्पन्न सवालमाथि स्पष्ट पार्न लक्ष्मी माविले शुक्रबार विहान पत्रकार सम्मेलन गरको छ । गैँडाकोट १५ अमरापुरीमा रहेको लक्ष्मी माविको विद्यालय व्यवस्थापन समिति गठन पक्रियालाई लिएर स्थानीय अभिभावकले विभिन्न सवाल उठाएका थिए । उनिहरुले विद्यालयका प्रधानाध्यापक मणिकंठ कंडेलको कार्यकक्षमा जेठ ५ गतेदेखि ताला लगाएका छन् । विद्यालयको पठनपाठन भने नियमिति सुचारु रहेको छ । 

 

विद्यालयमा २०७९ माघ २८ गते अभिभावक भेला भएको थियो । सोही भेलामा समितिमा बस्न ३२ जनाले नाम टिपाएका थिए । फागुन २ गते ३२ जना मध्येबाट २ जना सर्वसम्मत छनोट भएका थिए । फागुन १० गते खुलातर्फबाट १३ जना आंकाक्षि मध्ये सहमति र निरन्तरको छलफलले ९ जनाले फिर्ता लिए । अब बाँकी ४ जना मात्र बाँकी रहे । यस पश्चात पनि नियमितरुपमा ८ वटासम्म बैठक बसेको प्रअ कंडेलले बताउनुभयो । ८ वटासम्मका बैठकबाट निष्कर्ष निस्कन सकेन । बैशाख २२ गतेसम्म पनि कुनै सहमति हुन सकेन । अन्तिम निकासका लागि त्यसपछि नगर शिक्षा समितिलाई अनुरोध गरियो । प्राप्त निर्देशन अनुसार अगाडी बढ्ने निर्णय भयो ।

 

बैशाख २८ गते तत्कालिन विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिका अध्यक्ष र नगर शिक्षा अधिकारी एवं आंकाक्षि ४ जना अभिभावकहरुको संयुक्त बैठक भयो । यस बैठकले केही विकल्पहरुमा जाने निर्णय गरेको प्र.अ कंडेलले बताउनुभयो । विद्यालयका प्रधनाध्यापक कंडेल भन्नुहुन्छ “४ जनालाई सबै भन्दा पहिला मिलेर आउन भनिएको थियो । दोस्रो विकल्प गोलाप्रथा भनियो । तेस्रो विकल्प सघन छलफल गरियो कुनै सहमति निस्कीएन ।”


 

विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा आ.व. २०७९÷८० मा विभिन्न निकायमा योजना सम्झौता गर्न समस्या भएको र कामकाज प्रभावित भएपछि गैँडाकोट नगरपालिका प्रमुख र शिक्षा अधिकारीको सुझाब अनुसार गठन पक्रिया अघि बढाएको प्र.अ कंडेलले बताउनुभयो । 


यस अघि सर्वसम्मत भएका २ जना महिला, वडा अध्यक्ष १ जना र प्रधानाध्यापक सहितिको समिति बनाइ बाँकी २ नजा पछि मनोनित गर्ने गरि वडा अध्यक्षलाई नै अध्यक्ष बनाइ काम अघि बढाइएको थियो । वडा अध्यक्ष पहिले पनि विद्यालय व्यवस्थाप समितिको अध्यक्ष थिए । बाँकी २ जना खाली राख्ने र सहमतिमा पूर्णता दिने गरि अघि बढाएको प्र.अ कंडेलले शुक्रबार पत्रकार सम्मेलनमा बताउनुभएको छ । समितिमा शिक्षक प्रतिनिधि पनि पछि चयन गर्ने गरि काम अघि बढाएको थियो । गलत नियत र गलत नितिले नभइ, लामो समय विद्यालय व्यवस्थापन समिति नहुँदा कामकाज प्रभावित भएको हुँदा सहमति हुन सकेका व्यक्तिलाई छनोट गरि प्रक्रिया अघि बढाइएको प्रअ कंडेलको भनाइ छ । 

 


जेठ ५ गते स्थानीयले विद्यालय पुगेर विद्यालय व्यवस्थापन समितिले आर्थिक चलखेल गरेको समेत आरोप लगाएका थिए । आरोपको खण्डन गर्दै पत्रकार सम्मेलनमा प्र.अ. कंडेलले भन्नुभयो “ आर्थिक विषयलाई लिएर विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्र.अ र लेखापाल माथि लगाइएको तथ्यहीन, कपोकल्पित आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछौँ । विद्यालयका हर हिसाब सबै प्रष्ट छन्, जसले जुन सुकै समयमा आएर पनि हेर्न र बुझ्न सक्नुहुन्छ ।” 


 हरेक वर्ष गैँडाकोट नगरपालिकाले पठाउने लेखापरिक्षकबाट लेखापरिक्षण हुने, विद्यालयको अभिभावक भेलामा हरेक वर्ष हिसाब किताब सार्वजनिक गर्ने गरिएको हुँदा हरहिसाब पारदर्शी र नियम संगत रहेको विद्यालयका लेखापाल बासुदेव खनालले बताउनुभयो । 

आर्थिक कारोबारको गलत भ्रामक हल्ला गराई चरित्र हत्या गर्ने कार्यको विद्यालय प्रशासनले विज्ञप्ती मार्फत भत्र्सना गरेको छ । 


वडा अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज तिमल्सेनाले विद्यालयको विकासका लागि भोकभाकै दौडधुप गरेको व्यक्तिहरुलाई विना प्रमाण लगाइएका आरोपले दुःखीत बनाएको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले भन्नुभयो “पुख्र्यौली सम्पत्ती बेचेर सामाजिक काममा हिँडेको छु, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ४५ लाख, पुस्तकालय निर्माणका लागि साढे ६ लाख, नगरपालिका स्तरीय बजेटबाट विभिन्न पूर्वाधार विकासका कार्यक्रम आएका छन् ।” विद्यालयको विकास र शैक्षिक गुणस्तर बढाउन कटिबद्ध रहेको र यस बाहेक कुनै लाभ लिने मनशाय नभएको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । सामाजिक सञ्जालमा आएका झुठो आरोप र समाचारहरुको पछि नलागी बास्तविक कुरा बुझिदिन समेत पत्रकार सम्मेलनमा आग्रह गरिएको छ । 


विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा भएको असन्तुष्टि मिलाउन आज नगरपालिकामा दुबै पक्षको बैठक हुने प्रधानाध्यापक कंडेलले बताउनुभयो । 

यस अघिको समाचार पढ्नुहोस् । 

लक्ष्मी माविमा तालाबन्दी