सिँचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव छैन ः प्रमुख रेनु दाहाल

२०८० जेठ १२ शुक्रबार १६:५३:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताउनुभएको छ । खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वाषिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाईको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।
भरतपुरमा सिँचाईको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालिन र वैकल्पिक व्यवस्थाका लागि कामहरु अगाडि बढाईएको बताउनुभयो । प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले प्रयाप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उहाँको भनाई थियो ।
कृषिमा जति नै आधुनिकिरण, यन्त्रीकिरण गरेपनि सिँचाई अनिवार्य हुनुपर्ने औल्याउनुभयो । भरतपुरका मुख्य सिँचाई आयोजना नारायणी लिफ्ट र खगेरी सिँचाईले पश्चिम चितवनमा सिंचित गर्न नसक्दा कृषकहरु मर्कामा परेको बताउनुभयो ।
नारायणी लिफ्ट सिँचाईको जिर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात १२ महिना सिँचाईको व्यवस्था हुने प्रमुख दाहालले बताउनुभयो ।
पश्चिम चितवनको सुख्खागस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई  २१ सय हेक्टरमा सिँचाईको सुविधा रहेको बताउनुभयो । प्रमुख दाहालले अहिले एक खेती पनि नहुने ठाँउमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताउनुभयो ।
भूमिगत सिँचाई परियोजनाले भरतपुरको ९ हजार हेक्टरमा सिँचाई पुराउने लक्ष्यसहित धमाधम कामहरु भएकाले लगभग ४ वर्षभित्र सबै ठाँउमा सजह रुपमा सिँचाई उपलब्ध हुने उहाँको भनाई थियो ।