चितवनकै भविष्य बोकेको खगेरी खोला संरक्षणमा सहमति

२०८३ असोज ९ शुक्रबार १३:२९:०० मा प्रकाशित


चितवन । चितवनको खगेरी खोला चितवनको माटोलाई ओसिलो र उर्वर राख्न र चितवनको पर्यापर्यटनलाई जिवित राख्न मात्र होइन यस क्षेत्रकै मानव सभ्यता जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

खगेरी खोलाकै कारण चितवनको सयौँ हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको भने खोलाको पानीकै कारण बनेका सिमसार र तालतलैयाले गर्दा चितवनको मध्य तटीय र तल्लो तटीय क्षेत्रमा पर्यापर्यटनले हजारौँ रोजगारी सिर्जना गरिरहेको छ ।

तर चितवनले खगेरी उपजलाधार क्षेत्रको संरक्षणमा समयमा नै चासो दिन नसक्ने हो भने चितवनको मानव सभ्यता नै संकटमा पर्ने निश्चित देखिन्छ । 
यही कुरालाई बुझेर गैँडाकोटको सहमति र डब्लु डब्लु एफ को साझेदारीमा प्रकृतिमा आधारित समाधानका प्रयासहरु भइरहेका छन् ।

खगेरीको उद्गम स्थल इच्छाकामना ७ र तल्लो स्थल राप्ती नदीको खोरसोर क्षेत्रसम्म ३५ दशमलब ५५ किलोमिटर लम्बाइ रहेको यस उपजलाधार क्षेत्रमा १३ वटा खोला मिसिएका छन् । यस उपजलाधार क्षेत्रमा १२५ वटा साना ठूला ताल र सिमसार रहेका छन् ।

प्रकृतिमा आधारित समाधान कार्यक्रमले यस क्षेत्रका १९ वटा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी वनको संस्थागत विकाससँगै विपद् प्रतिकार्य सामग्री, वृक्षारोपण गरी खोला किनार र खाली रहेको जमिनमा हरियाली प्रवर्धन, नर्सरी स्थापनामा सहयोग पु¥याउँदै आएको सहमतिका सल्लाकार तथा निवर्तमान अध्यक्ष होमनाथ सुवेदीले बताउनुभएको छ ।

सुवेदीका अनुसार वन्यजन्तु सहअस्तित्व कायम गर्न तथा जमिनमा पानी पुनर्भरणमा समेत सहयोग पुग्ने गरी वन क्षेत्रमा पुराना सिमसारहरुको पुनस्र्थापना र नयाँ निर्माण, संरक्षण पोखरी, आहाल र तलाउहरुको स्थापनामा कार्यक्रमले सहयोग पु¥याउँदै आएको छ ।