सहकारी प्रतिकुलका कार्य भए त्यस्को भागिदार लेखा सुपरिवेक्षण समिति हुनुपर्छ ः सुवेदी

२०७९ चैत ९ बिहीबार १७:०९:०० मा प्रकाशित

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले सहकारीमा सेयर सदस्यको भावना प्रतिकुलका कार्य भए त्यस्को भागिदार लेखा सुपरिवेक्षण समिति हुनुपर्ने बताउनुभएको छ । विजय एफएमको सहकारी सन्दर्भ कार्यक्रममा बोल्दै उहाँले संस्थामा नियम विपरितका कार्य भएमा त्यस्को सजायको भागिदार लेखा समिति हुनुपर्ने बताउनुभएको हो । 
लेखा समितिका सदस्यलाई कम्तिमा लेखा विश्लेषण एवं मूल्याङ्कन गर्न उहाँले सुझाव दिनुभयो । लेखा सुपरिवेक्षण समितिले मासिक वित्तीय विवरण पुनरावलोकल गरेर सुझाव दिने, आन्तरिक लेखा परीक्षण प्रतिवेदनको पुनरावलोकन गर्ने, कार्यविधि र नीतिहरुको प्रभावकारी कार्यान्वन गराउन भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । साथै बैठकका निर्णय कार्यान्वयन गराउन, बाह्य र आन्तरिक लेखा परीक्षण प्रतिवेदन अवलोकन र नीतिगत विषयमा गरेका निर्णयको समिक्षा गरी संस्था मजबुत गराउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । 
देशमा तीन प्रकारका सहकारी रहेको बताउँदै सुवेदीले स्वार्थगत रुपमा खोलिएका सहकारी संकटमा रहेको, नेतृत्व तहले खोलेका सहकारी पनि जोखिममा रहेको र साँच्चिकै सहकारीको मर्म अनुसार खोलिएका सुरक्षित रहेको दावी गर्नुभयो ।
कतिपय सहकारीमा लेखा समिति सक्रिय नहुँदा विकृति समेत देखा परेको उहाँको विश्लेषण छ । सहकारी ऐन–२०७४ ले लेखा समितिलाई आन्तरिक नियमन निकायको रुपमा राखेपनि सो अनुसार भूमिका निर्वाह गर्न नसक्दा सहकारीमा सुशासन हराउँदै गएको उहाँको तर्क छ ।