भरतपुरको चौकीडाँडामा प्याराग्लाइडिङ बन्द, सडकबाटो बिग्रिएपछि पर्यटक घुम्न नआएको व्यवसायीको गुनासो
2025-05-12-06-02-39.jpeg)
चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ। चितवनको भरतपुर महानगरपालिका-२९, चौकीडाँडादेखि कविलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो ।
प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य सङ्ख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयवासी चिन्तित देखिन्छिन । दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलि बन्द भएको हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले जानकारी दिनुभयो । स्टेसनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभवामा प्याराग्लाइडिङ बन्द गरिएको उहाँले स्प्ष्ट गर्नुभयो ।
चौकीडाँडास्थित ‘स्टेसन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको बताउँदै अध्यक्ष घलेले अहिले सो सडक निर्माणाधीन अवस्थामा रहेको र स्टेसन क्षेत्र आसपासमा होटलहरु निर्माण गर्ने काम धमाधम भइरहेकाले केही समयका लागि उडान बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सडकबाटो बिग्रेका कारण स्टेसनसम्म जान समस्या भएपछि चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैँदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ ।” भरतपुर महानगरको भ्रमण वर्ष-२०२४ लाई लक्षित गरी मुलुकको पर्यटन प्रबर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको सो प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिने छ । रु ३० करोडको लगानीसहित १२ वटा प्याराग्लाइडिङको सो ठाउँमा व्यवस्था गरिएको । समुुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ । उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ ।
भरतपुर महानगरापालिका वडा नं २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसावले सम्भावना बोकेको चौकीडाँडा र कविलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको, स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो । रासस