नेपालमा वर्षेनि १२ देखि १५ लाख लिटर आइसक्रिम आयात, नेपाली आइसक्रिमको खपत वार्षिक ३५ लाख लिटर 

२०८२ बैशाख ३० मंगलबार ११:५६:०० मा प्रकाशित

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आइसक्रिम उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । आइसक्रिमको माग अनुसार उत्पादन र बिक्री वितरण गरिरहेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतम बताउनुहुन्छ । गर्मी लागेपछि आइसक्रिमको माग बढिरहेको छ । डीडीसीको दैनिक उत्पादन क्षमता ३ सय देखि ५ सय लिटरसम्म हो । डीडीसीले ५ फ्लेभरका आइसक्रिम उत्पादन गर्ने गरेको छ । जसमा भेनिला, बटर स्कच, चकलेट, चकलेट क्रन्च र स्ट्रबेरी छन् । डीडीसीले वार्षिक ६० हजार लिटर आइसक्रिम उत्पादन गर्दै आएको छ ।


आइसक्रिम व्यवसायीहरूको छाता संगठन नेपाल आइसक्रिम उद्योग संघका अनुसार गर्मीयामको ५ महिना आइसक्रिम व्यापार सबैभन्दा राम्रो हुने गर्छ । हाल नेपालमा साना, मझौला र ठूला गरी १ सय ५० वटा आइसक्रिम उद्योग छन् । ती उद्योगमा ३ अर्ब ५० करोड रुपैयाँ बराबर लगानी भएको छ ।  संघका सचिवालय प्रमुख कृष्णप्रसाद बास्तोलाका अनुसार देशभरि आइसक्रिमको वार्षिक खपत ३५ लाख लिटर हाराहारी छ । आइसक्रिम उद्योग संघ सचिवालय प्रमुख बास्तोलाका अनुसार नेपालमा वर्षेनि १२ देखि १५ लाख लिटर आइसक्रिम आयात हुन्छ । नेपालमा उत्पादित आइसक्रिमले कुल बजारको ५२ प्रतिशत हिस्सा ओगट्ने गर्छ । ३८ प्रतिशत हिस्सा भारतीय आइसक्रिमले ओगटेको र १० प्रतिशत भने आइसक्रिम जस्तै कुल्फी तथा बरफ बनाएर बेच्नेले ओगटेको पाइन्छ । आइसक्रिमको बजार राम्रो रहेको हुँदा यता तर्फ नयाँ व्यवसायिहरुको लगानी नडुब्ने आइसक्रिम व्यवसाय गरिरहेका व्यवसायिहरु बताउँछन् ।