पुल भाँचिएपछि सवारी आवागमन प्रभावित, प्रहरीद्वारा वैकल्पिक मार्ग प्रयोगको आग्रह

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको पुल भाँचिएपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। पुल भाँचिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार, पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरू चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै हाल पानी नभएको खोलाबाट रानिटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सक्नेछन्। पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनहरू फुलबारीबाट दक्षिणतर्फ लागी रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कन सक्नेछन्।
यसअघि पनि नारायणघाट–बुटवल सडक खण्डमा पुल भाँचिने घटनाहरू भएका छन्। २०८१ पुष २६ गते दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएर सडक अवरुद्ध भएको थियो। त्यसअघि गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, र देवचुली दलदलेको बौलाहा खोला पुल पनि भाँचिएका थिए। यी सबै पुलहरू जीर्ण अवस्थामा रहेका थिए र विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा ल्याइएका थिए।