भिएसएसएसमा दन्त स्वास्थ्य सम्बन्धि सचेतना प्रदान 

२०७९ चैत ९ बिहीबार १६:५४:०० मा प्रकाशित

गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनमा विद्यार्थीका अभिभावकलाई दन्त स्वास्थ्य सम्बन्धि सचेतना प्रदान गरिएको छ । विद्यालयमा कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई दन्त स्वास्थ सम्बन्धि प्रयोगात्मक प्रस्तुति सहित दिइएको अभिमुखिकरण तालिममा ७२ जनाको सहभागिता रहेको थियो । 
गैँडाकोट ७ कि इश्वरी पाण्डेले विजय सामुदायिक शिक्षा सदनमा दिइएको दन्त स्वास्थ्यको अभिमुखिकरण तालिममा धेरै कुराहरु सिक्न पाएको बताउनुभयो । बालबालिकालाई दाँत माझ्न कसरी सिकाउने, कस्ता कुरामा ध्यान दिनेसँगै आफैले पनि दाँत कसरी माझ्नुपर्छ भन्ने कुराका लागि यो कार्यक्रम उपयोगी रहको बताउनुभयो । 
अर्का अभिभावक गीता कंडेलले स्वास्थ्यको ख्याल राख्न दाँत र मुख सुरक्षालाई ध्यान दिनेबारे कार्यक्रमले प्रष्टाएको बताउनुभयो । उहाँले दाँत माझ्दा टुथपेस्टको मात्रा, ब्रस गर्ने तरिका जस्ता धेरै कुराहरु सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 
विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले विद्यार्थीहरुलाई स्वस्थ राख्नका लागि उनीहरुको अभिभावक सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले विद्यार्थीहरुलाई विषयगत शिक्षामा मात्र नभई सिकेको कुराहरु व्यवहारमा उतार्न सिक्ने र स्वास्थ्यको ख्याल राख्ने विषयमा सचेतना प्रदान गर्न कार्यक्रम गरेको बताउनुभयो । 
मुखलाई स्वस्थ राख्नका लागि दाँत माझ्न आवश्यक रहेको सिटि डेण्टलका दन्त चिकित्सक डा. देवेन्द्र कंडेल बताउनुहुन्छ । दन्त सडन, गिजामा हुने समस्या र श्वासप्रश्वास गन्हाउने जस्ता समस्याहरुबाट बच्नका लागि ब्रस गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 
विद्यालयको सभाहलमा भएको कार्यक्रममा सिटि अस्पतालका दन्त स्वास्थ्य विशेषज्ञ सुरज न्यौपानेले तालिम दिनुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक चक्रधर पौडेलले कार्यक्रमको समापन गर्नुभएको थियो ।