आफूभन्दा कान्छा केटासँग डेट गरिरहेकी मलाइका भन्छिन – प्रेमको कुनै उमेर हुँदैन

बलिउड अभिनेत्री मलाइका अरोडा सधैँ चर्चामा आइरहने कलाकार हुन् । मिडियामा उनका लुक्स, फिटनेस, प्रेमलगायत कुराले स्थान पाइरहन्छन्। मलाइका शनिबार ‘इन्डिया टुडे कन्क्लेभ २०२३’ मा सहभागी भइन्। जहाँ उनले सम्बन्ध विच्छेद र त्यसपछिको सम्बन्धबारे खुलेर कुराकानी गरेकी छन्।
कन्क्लेभको एक सेसनमा मलाइकालाई सोधियो, ‘समाजमा महिलाप्रति उनको रोजाइका विषयमा सधैँ प्रश्न उठिरहेको हुन्छ । उनले बस्नुपर्ने व्यक्ति, डेट गर्नुपर्ने व्यक्तिबारे आफ्नै धारणा र सुझाव दिइरहेका हुन्छन्। तपाईंले पनि दैनिक रूपमा केही न केही कुरा सुन्नुपरेको होला। यस्ता कुरासँग कसरी डिल गर्नुहुन्छ?’
उनले यो प्रश्नमा हाँस्दै जवाफ दिइन्। भनिन्, ‘जब मैले सम्बन्ध विच्छेद गरेँ तब मलाई किन यस्तो ग¥यौ भनेर सोधियो, किनभने यो ट्याग सधैँ मसँगै रहनेछ। सम्बन्ध विच्छेदपछि जब मैले प्रेम पाएँ, तब मानिसले यसले कसरी प्रेम पाइन् भनेर प्रश्न गरे। त्यसपछि आफूभन्दा कम उमेरका पुरुषसँग प्रेम गर्दा मैले आफ्नो होस गुमाएँसमेत भनियो। तर म यति मात्रै भन्छु– प्रेमको कुनै उमेर हुँदैन। तपाईं प्रेममा हुनुहुन्छ त हुनुहुन्छ, कुरा सकियो।’
उनले प्रेमबारे अगाडि थपिन्, ‘तपाईं उमेरमा जेठो मानिससँग प्रेममा पर्नुभयो कि कान्छो, यो कुराले कुनै फरक पार्दैन। म खुसी छु कि मैले यस्तो पार्टनर पाएको छु, जसले मलाई बुझ्छन्। उनी मभन्दा कान्छा छन् भने पनि ठीकै छ नि¤ मलाई के लाग्छ भने उनी मभन्दा जवान छन्, त्यसैले म पनि जवान महसुस गर्छु। यसले मलाई खुसी दिलाउँछ। म दुनियाँकै उत्कृष्ट छु भन्ने महसुस हुन्छ। मलाई लाग्छ कि यहाँ भएका महिला मसँग सहमत हुनेछन्। म यसका लागि खराब महसुस गर्दिनँ, किन गर्ने र?’