माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

२०७९ माघ ७ शनिबार १२:३५:०० मा प्रकाशित

कावासोती । माघें औँसीका अवसरमा नेपाल तथा भारतका हजारौ भक्तजन पुर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन । माघे औशीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ ।

भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरु यहा स्नान गर्न र पुजापाठ गर्न आएका हुन । विगतका वर्षहरुमा कोरोना महामारीको कारणले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ ।

शुक्रबार देखिनै आएका भक्तजनहरु त्रिवेणीधाममा दर्जनौ मठमन्दिरमा रातभर भजनकिर्तन गरेर रात कटाएका छन । त्रिवेणीधाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिबार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुईचो लागेको हो ।

त्रिवेणी धाम देखि २ किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाइ पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्नेहरु त्रिपाल टाँगेर बसेका छन् । मेलाका कारण त्रिवेणी बजार र यस आसपासका ५ दर्जन भन्दा बढी होटलहरु भरीभराउ छन् । नारायणी नदिका घाटहरु स्नानका लागि व्यवस्थित गरिएको छ । नारायणी नदीमा डुंगा तरेर चितवन निकुन्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।

मेलाको भिडभाडमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दे सुरक्षाकर्मिको सङख्या पनि बढाईएको छ भने उद्धारका लागी शसस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ ।

माघे औँसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरु समेत आउने जन बिश्वास रहेकाले औशीमा यहा स्नान गर्नाले पुण्य मिल्ने परापुर्वकालदेखिको विश्वास रहेको त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिब्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनु भयो ।
स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अबसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।

स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम त्रेतायुगमा वाल्मीकी ऋषिको तपोभूमी, लबकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल प्रबेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिक स्थल हो ।

भगवान मुक्तीनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठुलो धार्मीक महत्व रहेको धार्मिक विश्वास रहदै आएको छ । परापुर्वकालमा हात्ति र गोहिको लडाइमा भगवान नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहदै आएको छ । रासस