बुलिङटारमा टेलिकम टावर स्थापना गर्न साँसद गौतमको आग्रह
नवलपुर । नवनिर्वाचित नवलपुर १ का साँसद राजन गौतमले नेपाल टेलिकमलाई बुलिङटार गाउँपालिका क्षेत्रमा टेलिकम टावर स्थापना गर्न आग्रह गरेका छन्।
नवलपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गौतमले टेलिकमका प्रबन्ध निर्देशकलाई पत्र लेख्दै बुलिङटार गाउँपालिकाको भौगोलिक अवस्था दुर्गम भएकाले धेरै स्थानमा दूरसञ्चार सेवाको पहुँच कमजोर रहेको उल्लेख गरेका छन्।
पत्रमा विशेष गरी मोबाइल नेटवर्क तथा इन्टरनेट सेवामा बारम्बार समस्या आउने गरेको भन्दै स्थानीय नागरिक, विद्यार्थी, व्यवसायी तथा सरकारी सेवाग्राहीलाई दैनिक कामकाजमा कठिनाइ भइरहेको उल्लेख गरिएको छ।
सञ्चार सेवा प्रभावकारी नहुँदा शिक्षा, स्वास्थ्य, सुरक्षा र विपद् व्यवस्थापन जस्ता अत्यावश्यक क्षेत्रसमेत प्रभावित हुने गरेको उनको भनाइ छ। आधुनिक सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला भरपर्दो सञ्चार सेवा नहुँदा स्थानीय जनतालाई ठूलो समस्या परेको पत्रमा जनाइएको छ।
बुलिङटार गाउँपालिकमा टावर स्थापना भएमा स्थानीय नागरिकको दैनिक जीवन सहज हुने, साथै क्षेत्रको विकास र सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।