गैंडाकोटमा जापानीज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

( शुरुको दिन ३५३४ जनाले लगाए खोप )

२०८२ चैत १ आइतबार १८:४४:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकामा ३५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी जापानीज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सुरु गरिएको छ । चैत्र १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिनेछ ।


खोप अभियानको पहिलो दिन आइतबार गैंडाकोट नगरपालिकाभित्र ( वडा नं १ देखि १८) सम्म करिब २०८० महिला र १४५४ पुरुष गरी  ३५३४ जनाले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाएका  गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष गैंडाकोट नगरपालिकाका १ देखि १८ वडाभित्र करिब ३२ हजार ८ सय ५ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।


नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यका अनुसार गैंडाकोटका प्रत्येक स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन भइरहेको छ र ३५ वर्षभन्दामाथि उमेरका सबै नागरिकले खोप लगाउन सक्नेछन् । अभियानका लागि नगरपालिकामा ७ हजार २ सय ८३ भाइल खोप उपलब्ध भइसकेको जनस्वास्थ्य निरीक्षक आचार्यको भनाई छ । 


प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंका अनुसार नवलपुर जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सञ्चालन गरी करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

 

त्यस्तै, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खोपको ब्याग चिकित्सकलाई हस्तान्तरण गर्दै ३५ वर्षभन्दा माथिका नागरिकलाई ढुक्कका साथ खोप लगाउन आग्रह गर्नुभएको छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, गैंडाकोट आधारभूत अस्पतालका प्रमुख बालकृष्ण पराजुली, गैंडाकोट वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, स्वास्थ्यकर्मी  लगायतको उपस्थिति रहेको थियो।


नगरपालिकाले सम्बन्धित सबै नागरिकलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा पुगेर खोप सेवा लिन आग्रह गरेको छ । एक पटक खोप लगाएपछि दीर्घकालीन सुरक्षा दिने भएकाले चैत्र १ देखि ५ गतेसम्म सञ्चालन हुने शिविरमा सहभागी भई खोप लगाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ।
खोप लगाउन जाँदा २०४७ साल फागुन मसान्तसम्म जन्ममिति भएका व्यक्तिहरूले उमेर खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने जनाइएको छ ।


 

जापानीज इन्सेफलाइटिस संक्रमित बंगुर तथा हाँस लगायतका पक्षीलाई टोकेर संक्रमित भएको लामखुट्टेले मानिसलाई टोक्दा सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । विशेष गरी बंगुर पालन, हाँस पालन हुने तथा धानखेती बढी हुने क्षेत्रमा यसको जोखिम बढी हुने गर्दछ ।