गैँडाकोटमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८२ सुरु
गैँडाकोट । गैँडाकोटमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह-२०८२ सुरु भएको छ । डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा “वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नाराका साथ आइतबारदेखि सचेतना सप्ताह सुरु भएको हो । यो सप्ताह चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
सप्ताहअन्तर्गत आइतबार आयोजित कार्यक्रममा वनमा लाग्ने डढेलो कसरी नियन्त्रण गर्ने, डढेलो नियन्त्रणका क्रममा अपनाउनुपर्ने सावधानी तथा सुरक्षाका उपायबारे डेमो प्रदर्शनसहित प्रशिक्षण दिइएको थियो । साथै, आधुनिक तथा नयाँ प्रविधिको प्रयोग गरी डढेलो नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी र अभ्याससमेत गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विगतका वर्षहरूमा वन डढेलो नियन्त्रणमा वन कार्यालयका कर्मचारी तथा समुदायले खेलेको महत्वपूर्ण भूमिकाका कारण वन क्षेत्र जोगाउन सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा वन संरक्षण तथा डढेलो नियन्त्रणका कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले वन डढेलो नियन्त्रणका लागि जनचेतना र तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता तालिमबाट डढेलो नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन मद्दत पुग्ने भएकाले सबैले आ-आफ्नो क्षेत्रका सामुदायिक वन संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

मुकुन्दसेन सामुदायिक वनका अध्यक्ष तुलसी गैरे सुवेदीले यस्ता तालिमले वन संरक्षण र डढेलो नियन्त्रण कार्यलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मण गिरी, सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्मका सहायक निरीक्षक निमबहादुर केसी, वन तथा पर्यावरण सुरक्षा गणका सेनानी लेनिन रोका मगर, स्थानीय सामुदायिक वन उपभोक्ता महासंघका कोषाध्यक्ष कमला शर्मा लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सब-डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण वन अधिकृत सुवास अधिकारीले गर्नुभएको थियो ।
सप्ताहअन्तर्गत आगामी दिनहरूमा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा वन डढेलो नियन्त्रण सम्बन्धी अभ्यासात्मक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।