नवलपुर १ मा डा. कोईरालाको पल्लाभारी (सबै उम्मेदवारको मतसहित)  

२०७९ मङ्सिर ८ बिहीबार १६:०७:०० मा प्रकाशित

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला निर्वाचित हुनुभएको छ ।

डा. कोइराला २७ हजार ६७ मत सहित विजयी हुनुभएको हो । उहाँ यस क्षेत्रबाट चौंथो पटक निर्वाचित हुनुभएको हो । यस क्षेत्रमा रहेका १५ जना उम्मेदवारलाई डा. शशांक कोइरालाले पराजित गर्नुभएको छ । वीपी पुत्र कोइराला नेपाली कांग्रेसका पूर्व महामन्त्री हुनुहुन्छ । बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका डा. कोइराला नवलपरासीबाट संविधानसभामा दुई कार्यकाल विजयी हुनुभएको थियो भने २०७४ मा समेत विजयी हुनुभएको थियो । सक्रिय राजनीतिमा आएको छोटो समयमा शशांकले अहिलेसम्म पछाडि र्फकनु परेको छैन । उहाँले अहिलेसम्म चुनाव हारेको रेकर्ड छैन । 

कोइराला निकटतम प्रतिस्पर्धीसँग २ हजार २० मतान्तरले विजयी हुनुभएको हो । डा. कोइरालाले सदर मतको ३२.७८ प्रतिशत पाउनुभएको हो । उहाँले प्राप्त गरेको मत यस क्षेत्रका जम्मा मतदाताको २०.६३ प्रतिशत हो ।  

यसअघि संविधान सभा सदस्य बनिसक्नुभएका उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभयो । त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गर्नुभयो । चौंथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. मोहनी लाल भुसालले ३ हजार ४ सय ७९ मत प्राप्त गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका अन्य ११ उम्मेदवारले १ हजार मत समेत कटाउन सकेनन् । त्यसमध्ये २ जनाले १ सय मत पनि कटाउन सकेनन् भने २ उम्मेदवारले दोहोरो अंक समेत बनाउन सकेनन् । अन्य दललाई समर्थन गरेका स्वतन्त्र उम्मेदवारलाई समेत मत परेको देखिन्छ ।      

नवलपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका मंगोल नेशनल अर्गनाइजेसनका प्रेम छिरी शेर्पाले ६६१ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका टक बहादुर थापा मगरले ५५४ मत प्राप्त गर्नुभयो । लौरो अभियान र स्वतन्त्र उम्मेदवार दावी गर्दै हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लिएर उठ्नुभएका तुलसी राम भुषालले ४२३ मत ल्याउनुभयो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका कमल महतोले ३१५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी.ले २७६ मत प्राप्त गर्नुभयो । जनता समाजवादी पार्टी नेपालका भुम बहादुर राईले २१५ मत ल्याउनुभएको छ ।     

स्वतन्त्र उम्मेदवार सुर्य प्रसाद सापकोटाले १०६ मत पाउनुभयो । नेपालका लागि नेपाली पार्टीका रुक्मागत चापागाईको ९९ मत, स्वतन्त्र उम्मेदवार विष्णु भट्टको १५ मत, स्वतन्त्र उम्मेदवार विन्दु भट्टराईको ९ मत र स्वतन्त्र उम्मेदवार एकनाथ पोख्रेल    को ६ मत रहेको छ । 

नवलपुर क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार १ सय ८१ मतदाता रहेपनि मात्र ८६ हजार ६ सय ७० जनाले मतदान गरेका थिए । मतदान गरेका मध्ये ४ हजार १ सय ३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।