गैँडाकोट १ मा रहेको मौलाकाली सामुदायिक वनले २४ औँ वार्षिक साधारण सभा सम्पन्न

२०८३ भदौ २१ आइतबार १९:१०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट १ मा रहेको मौलाकाली सामुदायिक वनले २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वन कार्यालयको परिसरमा भएको कार्यक्रममा डिभिजनल वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले सामुदायिक वनहरूले वन ऐन नियमावली अनुसार गरिबी निवारण, महिला शसक्तिकरण तथा अन्य कार्यक्रमका लागि नियमावली अनुसार बजेट विनियोजन गर्न सुझाब दिनुभएको छ । यसका साथै वार्षिक कार्यक्रम अनुसार वनले उत्कृष्ट कार्यसम्पादन गरेको बताउनुभयो ।

गैँडाकोट वाड नं. १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले मौलाकाली केवलकारमा वनका उपभोक्ताकालागि ७५ प्रतिशत छुटका लागि प्रस्ताव गर्ने निर्णय गर्न संस्थालाई सुझाव दिनुभएको छ ।

सामुदायिक वन उपभोक्ता प्रदेश महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सामुदायिक वनका उपभोक्ता राज्यका विभिन्न प्रकृतिका करका कारण मारमा परको उल्लेख गर्दै महासंघ उपभोक्ताको हकहितका लागि सदैव क्रियाशील रहेको बताउनुभयो ।

सव डिभिजनल वन कार्यालयका वन अधिकृत सन्तोष मिश्रले सामुदायिक वनले वन संरक्षणका लागि प्रविधिको प्रयोग गर्न सुझाब दिनुभएको छ ।

मौलाकाली सामुदायिक वनका पूर्व अध्यक्ष एवम् सल्लाहकार शालिकराम सापकोटाले विभिन्न उपसमिति र समितिबीचको समन्वयलाई प्रभावकारी बनाउन सुझाब दिनुभएको छ ।

मौलाकाली मन्दिरका अध्यक्ष खगराज कंडेलले मौलाकाली मन्दिर जाने सिँढी मार्गमा फूलहरु रोपी सिँढी मार्गको सौन्दर्य बढाउन वन समक्ष आग्रह गर्नुभएको छ ।

शैक्षिक व्यक्तित्व इन्द्रराज भट्टराइले सामुदायिक वनले नेराश, नवदुर्गा र महेन्द्र स्मारकमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सक्दो सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उपभोक्ता गिरिराज लम्सालले पारदर्शी र उपभोक्तालाई सहज सूचना पहुँच गराई सेवा प्रवाह गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

यसैगरी उपभोक्ता अम्बिका लम्सालले सामुदायिक वनले गरिवी निवारण, महिला सशक्तिकरण, वन संरक्षण मात्र नभइ उपभोक्ताको करेसा मार्फत स्वस्थ उपभोक्ता बनाउन सहयोग पु¥याउँदै आएको बताउनुभयो ।

वार्षिक साधारण सभामा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै इन्दिरा शर्माले वन समूहले वन संरक्षण मात्र नभइ उद्यमशीलताका कार्यक्रम अघि बढाएको बताउनुभयो । कोषाध्यक्ष धना पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै कुल आम्दानी १ करोड ४ लाख २२ हजार र कुल खर्च ७४ लाख ९ हजार ५ सय २० रुपैँया रहेको बताउनुभयो ।

कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सदस्य बाबुराम पराजुली र अनुगमन तथा मूल्यांकन समितिको पदमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरेले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहका सचिव इन्दिरा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष डिलाराम कंडेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष हरिप्रसाद सापकोटाले गर्नुभएको थियो । संस्था उपभोक्ताको आवश्यकता र विधि र विधानअनुसार निरन्तर अघि बढ्ने बताउनुभएको छ । सामुदायिक वनले साधारण सभामा उपस्थित उपभोक्ताहरुका लागि विउपल समेत वितरण गरेको सहसचिव ठाकुर सापकोटाले जानकारी दिनुभयो ।