राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक र फोटो खिच्ने सेवा अब वडा कार्यालयबाटै
गैँडाकोट । गैँडाकोट नगरपालिकाले राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण तथा फोटो खिच्ने सेवा अब वडा कार्यालयबाटै उपलब्ध गराउने भएको छ। सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयको घुम्ती टोलीमार्फत सम्बन्धित वडाबाट सेवा प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार बिरामी, अशक्त तथा वृद्धवृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नयाँ निवेदन दिन कठिनाइ हुने भएकाले वडास्तरमै सेवा सञ्चालन गर्न लागिएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभएको छ । नगरप्रमुख अधिकारीका अनुसार यसबाट विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
सेवा लिन आउँदा सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रति अनिवार्य रूपमा ल्याउनुपर्नेछ। विवाहितका लागि श्रीमान्÷श्रीमतीको नागरिकता, विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरी आएको भए बसाइँसराइ प्रमाणपत्र, श्रीमान् वा श्रीमतीमध्ये कसैको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र तथा सम्बन्धविच्छेद भएको भए सम्बन्धविच्छेद दर्ताको कागज आवश्यक पर्ने नगरपालिकाले जनाएको छ।

गैंडाकोट १ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीका अनुसार पहिलो चरणमा गैँडाकोट नगरपालिका-१ को वडा कार्यालयमा बिहान ९ बजेदेखि सेवा सञ्चालन गरिएको छ । वडा १ मा सकिएपछि वडा नं. २ लगायत अन्य वडामा क्रमशः सेवा विस्तार गरिने विवरण दर्ता अपरेटर सुजन सेनले जानकारी दिनुभएको छ ।
नगरपालिकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी बायोमेट्रिक तथा फोटो खिच्ने सेवाबाट लाभ लिन सम्बन्धित वडाका नागरिकलाई आवश्यक कागजातसहित निर्धारित समयमा उपस्थित हुन आग्रह गरेको छ।