१० औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३ गैँडाकोटमा शुरु

२०८३ भदौ २१ आइतबार १४:०७:०० मा प्रकाशित

गैँडाकोट । नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १० औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३ गैँडाकोटमा शुरु भएको छ। महिला तेक्वान्दो खेलाडीलाई हौसला प्रदान गर्दै खेलप्रति रुचि र सहभागिता बढाउने उद्देश्यले गैँडाकोट नगरपालिका–२ स्थित होटल मानसरोवरमा आइतबार प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा नवलपुर जिल्लाका विभिन्न डोजाङका करिब १५० जना महिला खेलाडीले १६ वटा तौल समूहमा प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिता विश्व तेक्वान्दोको नियमअनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ। 
उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका–२ का वडाध्यक्ष प्रकाश सापकोटाले महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारविरुद्ध आत्मरक्षाका लागि तेक्वान्दो खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलाडीहरूले सिकेको सीपलाई आवश्यक पर्दा महिला हिंसाविरुद्ध आत्मरक्षाका रूपमा प्रयोग गर्न सक्ने बताउँदै नियमित अभ्यास र अनुशासनमा जोड दिनुभयो।


नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुसालले महिला खेलाडीहरूको सहभागिता बढाउँदै जिल्लामा तेक्वान्दो खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलाडीलाई प्रतिस्पर्धामार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै महिला सशक्तीकरणमा खेलकुदको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।


प्रतियोगिताको संयोजक मनु थापाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो। कार्यक्रममा संयोजक थापाले महिला खेलाडीलाई खेल क्षेत्रमा अगाडि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 
कार्यक्रममा जिल्ला तेक्वान्दो नवलपुरका कोषाध्यक्ष नवीन गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला अध्यक्ष राजु भुसालले गर्नुभएको थियो।


नवलपुर जिल्ला तेक्वान्दो संघका अनुसार प्रतियोगिता संघको वार्षिक कार्यक्रमअन्तर्गत महिला तेक्वान्दो खेलको विकास, महिला खेलाडीहरूको सहभागिता विस्तार तथा खेलमार्फत महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितामा महिला प्रशिक्षक, अफिसियल तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।