डा. शशांकलाई चुनौती बन्दै घण्टी

२०७९ मङ्सिर ६ मंगलबार २०:५८:०० मा प्रकाशित

गैंडाकोट । नवलपुर क्षेत्र नं. १ को मतगणना जारी छ । नवलपुरमा २०४६ सालदेखि संसदीय निर्वाचनमा नेपाली कांग्रेसले जित्दै आएको छ । यस पटकको  निर्वाचनमा भने नेपाली काँग्रेसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बन्ने देखिएको छ । 

नवलपुर निर्वाचन क्षेत्र नं. १ को बुलिङटारको मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको थियो भने घण्टी निकै कम मत प्राप्त गरेको थियो । गैँडाकोट नगरपालिका अन्तर्गतका वडाहरुमा मतगणना सुरुभएपछि घण्टीले मतान्तर कम गर्दै आएको छ ।

अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार राजन गौतम तेस्रो स्थानमा रहेपनि गौतमको मतसंख्या तीव्र रुपमा बढ्ने आंकलन गरिएको छ । 
गैँडाकोटका १० र १२ वडाको मतगणनामा रास्वपाले अग्रता लिएको थियो । यसैगरी ११ र १४ को मतगणनामा पनि रास्वपाले अग्रता लिएको देखिन्छ । यसैगरि गैँडाकोट १ र १६, २ र १५ को मतगणनामा पनि रास्वपाले अग्रता लिएको छ । 


गैँडाकोट ३ र १८ बाहेक गैँडाकोटका अन्य वडामा रास्वपाले राम्रो मत प्राप्त गर्ने देखिन्छ । गैँडाकोटमा अहिलेसम्म भएका मतगणनामा रास्वपाले जुन मत प्राप्त गरिरहेको छ, अन्य वडामा पनि सोही अनुरुप भएको खडमा रास्वपा काँग्रेस र एमालेका लागि चुनौती बन्न सक्दछ । 


राजन गौतम देवचुलीकै स्थानीय उम्मेद्वार भएको कारण पनि देवचुलीमा रास्वपाको राम्रो मत आउन सक्ने आंकलन गरिएको छ । निर्वाचनको केही दिन अघि रास्वपाले कावासोतीमा गरेको चुनावी सभामा देखिएको उल्लेख्य उपस्थितिलाई काँग्रेस र एमालेका नेताहरुले चुनौतीको रुपमा हेरेका थिए । 


नेपाली काँग्रेसको भोट बैंकको रुपमा हेरिएको गैँडाकोटबाट नै रास्वपाले राम्रो मत पाइरहेको छ । गैँडाकोटबाट एमालेसंग ठूलो अग्रता बनाउन नसकेको खण्डमा पनि काँग्रेसका लागि फाइदाजनक नहुन सक्दछ । 


नेपाली काँग्रेसका कतिपय नेताहरु रास्वपाले आफूले चुनाव जित्न नसकेपनि काँग्रेसको अपराजित यात्रा रोक्न सहायक बन्ने होकी भन्नेसम्मको आंकलन गर्न थालेका छन् । 


गैँडाकोटको वाड नं. ४, ५, ८ लाई काँग्रेसले व्यग्र प्रतिक्षामा हेरेको छ । यस वडामा पनि घण्टी हावि भएको खण्डमा काँग्रेसका लागि कठिन चुनौती देखिनेछ । 
पछिल्लो मत परिणाम अनुसार काँग्रेस ९३६५, एमाले ७६३१ र रास्वपाले ७११६ मत प्राप्त गरेको छ ।

नवलपुर  १ मा ८५४०० मत खसेको थियो भने २३ हजार १ सय ८६ मतगणना भएको छ ।