विजयको यात्रा सँगै गरौँ

२०७९ कार्तिक २९ मंगलबार १२:५५:०० मा प्रकाशित

पाठकबृन्द, आजभन्दा ठीक सात वर्ष अगाडि साविक नवलपरासी जिल्लाको गैँडाकोटमा स्थापित साप्ताहिक पत्रिका विजय खबर आठौँ वर्षमा प्रवेश गरेको छ । स्थापनकालमा नेपालको संविधान २०७२ जारी भई कार्यान्वयनको चरणमा थियो । संविधान जारी भई नयाँ नेपालका रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालीन समयमा काम गर्न उत्तिकै चुनौती थियो । असहज वातावरणका बाबजुद विजय खबरले विजयको सन्देश लिएर आएको थियो । २०७२ सालको भुकम्पले देश थलिएको अवस्था, २०७४ सालको निर्वाचन, २०७९ सालको स्थानीय निर्वाचन, पटक–पटक सरकार फेरबदल राज्यपुर्नसरंचनापछि विभाजित जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सरकारी कार्यालय स्थापना गर्नुपर्ने महत्त्वपूर्ण काम थियो । अन्य महत्त्वपूर्ण घटनाक्रम यहि बीचमा भएका छन् । यस्तो अवस्थामा लोकतन्त्र स्थापनका लागि आवाज बुलन्द गर्नुपर्ने दायित्व सबैको काँधमा थियो । त्यसका लागि खबरदारी गर्दै स्थानीय तहमा समुदाय स्तरमा सहजिकरणको भूमिका पत्रिकाले निर्वाह गर्दै आयो । सोही पत्रिका अहिले आठौँ प्रवेश गरेको छ भन्न पाउदा हामीलाई आज गर्वको अनुभूति भइरहेको छ । 

हुनत पत्रिकालाई यस अवस्थासम्म ल्याउन कम्ति संघर्ष गर्नु परेको छैन । तै पनि यहाँहरुको साथ, सद्भाव र ममताका कारण सबै पीडा भुलेर अगाडी बढिरहेका छौँ । यहाँहरुले देखाउने ममताका कारण नै पत्रिका प्रकाशनमा झेल्नु परेको पीडा बिर्सिएका छौँ । यहाँका नागरिकहरुको सत्य र तथ्य सूचनाको भोक मेटाउनका लागि अहोरात्र मिहिनेत गरेका छौँ । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिकलगायत समाजका विविध पक्षमा हामिले चासोका साथ हेरेका छौँ । स्थानीय भूगोल र आवश्यकताका आँखाबाट समृद्धि र सुशासनका लागि कलम चलाएका छौँ । सामाजिक सञ्जालका कारण छापा माध्यम ओझेलमा परेको हामीले महसुस गरेका छौँ । यद्यपी यहाँ समाचार र सूचनाको पुष्टि गर्ने आधार र तपाईंको त्यो हुटहुटीलाई हामीले बिर्सने छैनौ । निरन्तर तपाईको माझमा हामी अविचलित भई लाग्ने छौँ । हामी आज यो अवस्थासम्म आउनमा तपाइँ पाठक वर्गकै ठूलो हात छ । हामीलाई साथ दिनुहुने सबै पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तक अनि शुभेच्छुक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

विजय खबर स्थापनाकालदेखी नै प्रेस काउन्सीलको वर्गिकरण सुचिमा ‘ख’ वर्गमा पर्दै आएको पत्रिका हो । जिल्लाकै पहिलो र प्रकाशन एवं प्रशारण क्षमताका हिसाबले ठूलो सञ्चार संस्था हुनुको नाताले हामीलाई अझै बढी जिम्मेवार र अभिभाकत्वको भूमिकामा रहनका लागि झकझकाएको महसुस हुन्छ । जिल्लाको सबैभन्दा पुरानो र ठूलो हुनुको नाताले पनि हामी प्रकाशनको सवालमा जस्तोसुकै बाधा व्यवधान बेहोर्नु परे पनि पाठकको सूचना पाउने अधिकार र रहरलाई मर्न दिने छैनौं । संविधानले दिशानिर्देश गरेको समाजवाद उन्मुख लक्ष्यमा पुग्न समावेशी लोकतन्त्रलाई मजबुत पार्दै स्थानीय स्तरका समस्या र सम्भावनाको पहिचान गरी उजागर गर्ने हाम्रो ध्येय हुनेछ । नागरिकका आधारभूत आवश्यकतासँगै सार्वजनिक सेवामा नागरिकको सहज पहुँच हुनुपर्छ भन्ने मान्यताको हामी वकालत गर्नेछौँ । लोकतन्त्र र विधिको शासनमा सम्झौताहीन यात्रामा हामी छौँ । हामी विजय प्राप्त गर्न हाम्रो लक्ष्यमा दृढ छौँ । बाटो विराय भने खबरदारी तपाईले गर्नुपर्नेछ । आउनुहोस् सँगै हिँडौं ।