मनमोहन प्राविधिक विश्वविद्यालयले फार्मेसी र पब्लिक हेल्थ पढाइ सुरु गर्दै 

२०७९ कार्तिक २० आइतबार १७:५४:०० मा प्रकाशित


चितवन । मोरङको बुढीगंगा ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्तर्गत मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम सुरू हुने भएको छ ।

आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष २०७९÷०८० बाट स्नातक तहको मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रमहरू सुरु हुने ईन्जिनियरिङ संकायका प्रमुख ई. नरेन्द्रकुमार डाँगीले जानकारी दिनुभयो । ५८३ जनाले हाल सम्म आवेदन दिएको उहाँको भनाई छ । 

देशकै पहिलो प्राविधिक विश्वविद्यालयले फार्मेसी र पव्लीक हेल्थसंगै स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको बी.ई इन सिभिल इन्जिनियरिङ र बीइ इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ पनि पढाइ हुने स्कुल अफ इन्जिनियरिङका डिन डा. प्रचण्डमान प्रधानले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७९÷०८० बाट मेडिकल तर्फ पठनपाठन गराउन स्नातक तहको पाठ्यक्रम निर्माण गरेर काउन्सिलबाट स्विकृत पनि गराइसकेको उहाँले बताउनुभयो । 

देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन् २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक बिषयमा स्नातक तहदेखि पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ ।

१० वर्ष भित्र स्नातक, स्नातकोत्तर र विद्यावारिध गरी विभिन्न २८ विषयहरु सञ्चालन गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जनाईएको थियो । उहाँका अनुसार एमटियूले क्रमश आईटी, पारा मेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड म्यानेजमेन्ट लगायतका बिषयमा २८ सय बढी विद्यार्थीहरुलाई स्नातकदेखि स्नातकोत्तर तहसम्म पठनपाठन गराउने छ । यो प्रदेश सरकारले सञ्चालन गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो ।