छठ पर्वको आज मुख्य दिन अस्ताउदो सूर्यलाई अर्घ दिईदैँ, नारायणी नदी किनार सजाईयो  

२०७९ कार्तिक १३ आइतबार ०६:०९:०० मा प्रकाशित

गैँडाकोट । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्वको आज मुख्य दिन अस्ताउदो सूर्यलाई अर्घ दिईदैँछ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसवासीको महान् चाड छठ पर्व शुक्रबारदेखि सुरु भएको तराई सामुदायिक सेवा समिति चितवनका पूर्व अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिनुभयो । शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आज (आइतबार) परेकाले तराई मधेसका जिल्लामा छठ पूजाका लागि पोखरीको डिल र नदीको किनारमा तयारी तीव्र रूपमा भइरहेको छ । नारायणी नदी किनारमा छठ पूजाको तयारी चलिरहेको तराई सामुदायिक सेवा समिति चितवनका उप सचिव सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । छठघाटलाई आकर्षक टेण्ट र झिलिमिली बत्तीले सजाइएको छ । 
कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेहरूले खोला, नाला, नदी, पोखरी, तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन् । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई (खरना) भनिन्छ। खरनाका दिन शनिबारदेखि नै व्रतालुहरूले निराहार व्रत बसेका थिए । छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ ।

आज व्रतालु महिलाहरूले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाइ अर्घ दिने चलन रहेको तराई सामुदायिक सेवा समिति चितवनका अध्यक्ष जयकिशोर पाण्डेले जानकारी दिनुभयो । भोलि सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुन्छ ।