स्थानीय उत्पादनको प्रर्वद्धन गर्न रत्ननगरमा रात्रिकालीन बजार सञ्चालन हुने

२०८२ असोज २९ बुधबार १९:०७:०० मा प्रकाशित

चितवा । रत्ननगर वडा नं १ मा बकुलहरमा रात्रिकालीन बजार सञ्चालन हुने भएको छ । वडा कार्यालय र रात्रिकालीन बजार व्यवस्थापन समितिको संयुक्त पहलमा कार्तिक १० गतेदेखि बजार सञ्चालनमा ल्याइने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष कुलप्रसाद सापकोटाले कार्तिक १० गतेदेखि प्रत्येक सोमबार बजार सञ्चालन हुने बताउनुभयो । उहाँले बजार मुख्य राजमार्ग र वडा कार्यालयको सडकबाट सेभ सुपरमार्केट प्रवेश गर्ने सडकमा रहने जानकारी दिनुभयो । “यो बजारले स्थानीय व्यवसायीहरूलाई थप अवसर प्रदान र स्थानीय उत्पादनको प्रर्वद्धनमा सहयोग पुग्ने वडाध्यक्ष सापकोटालले बताउनुभयो ।

सोही अवसरमा बजार व्यवस्थापन समितिका संयोजक पुष्पराज श्रेष्ठले बजारमा स्थानीय उत्पादन, दैनिक उपभोग्य खाद्यान्न, रेस्टुरेन्ट, लत्ताकपडा लगायतका ५० भन्दा बढी स्टलहरू रहने बताउनुभयो । बजार दिउँसो ४ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुनेछ ।