जनमुखी आदर्श कलेजमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

गैँडाकोट । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ इकाई समिति जनमुखी आदर्श कलेज अमरापुरीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नव नियुक्त क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख सम्मान कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट–१५, अमरापुरीमा अवस्थित जनमुखी आदर्श कलेजका प्राध्यापकहरूको साझा संस्था प्राध्यापक संघ इकाई समितिको आयोजनामा दशैं, तिहार, छठ र नेपाल संवतको अवसरमा कलेज सञ्चालन समिति, प्राध्यापक तथा कर्मचारीबीच शुभकामना आदानप्रदान कार्यक्रम भएको हो।
कार्यक्रम त्रि.वि. प्राध्यापक संघ इकाई समितिका सभापति रामजी आचार्यको अध्यक्षतामा तथा कलेज सञ्चालन समितिका अध्यक्ष तेजेन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि सापकोटाले मौलिक चाडपर्वहरूले सामाजिक एकता र भाइचाराको सम्बन्धलाई सुदृढ बनाउने बताउँदै जनमुखी कलेज क्षेत्रकै अग्रणी शैक्षिक संस्था भएको उल्लेख गर्नुभयो ।
क्याम्पस प्रमुख निराजन प्रसाद चौधरीले शुभकामना मन्तव्य दिँदै कलेजले अनेक संघर्षकाबीच भौतिक रुपमा सबलता हासिल गरेको र अब शैक्षिक गुणस्तरमा अझ निखार ल्याउनुपर्ने बताउनुभयो ।
संस्थापक क्याम्पस प्रमुख केशव प्रसाद घिमिरेले कलेजका समस्या, सम्भावना र चुनौतीबारे चर्चा गर्दै चाडपर्व र धर्मबीचको सम्बन्धको उल्लेख गर्दै सभ्य र सुसंस्कृत ढंगले पर्व मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा शास्त्र संकाय प्रमुख यज्ञ सुवेदी, सहायक क्याम्पस प्रमुख प्रेम पौड्याल, कलेज सञ्चालक समितिका सदस्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघका उपाध्यक्ष तथा व्यवस्थापन संकाय प्रमुख कमला दवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संघका सचिव बासुदेव गैह्रेले गर्नुभएको थियो । उक्त कार्यक्रममा नव नियुक्त क्याम्पस प्रमुख निराजन प्रसाद चौधरी र सहायक क्याम्पस प्रमुख प्रेम प्रसाद पौड्याललाई सम्मान गरिएको थियो ।