पाँच वटा घर हस्तान्तरण गर्दै मनायो नारायणी वनले साधारण सभा  

२०७९ असोज १४ शुक्रबार १९:०६:०० मा प्रकाशित

गैँडाकोट ।  नारायणी सामुदायिक वन उपभोक्ता समूहले यसवर्ष गरिब विपन्न सदस्यलाई ५ वटा घर हस्तान्तरण गरेको छ । शुक्रबार १०औँ वार्षिक साधारण सभाको अवसरमा निर्माण गरिएका ५ वटा घर उद्घाटन पश्चात गरिब विपन्न सदस्यलाई हस्तान्तरण गरेको हो । 
साधारण सभा कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यलय नवलपुरका प्रमुख मोहनराज काफ्लेले अहिले बनेको नयाँ वन ऐनले वन व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वन ऐनमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य भएता पनि सामुदायिक वनहरुले कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभएको थियो । 
उहाँले नवलपूर क्षेत्र मध्ये गैँडाकोट क्षेत्रमा सबैभन्दा बढी काठ आपूर्ति भएको समेत बताउनुभयो । नारायणी सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण र व्यवस्थापनमा अब्बल रहेको बताउँदै वनले हरियाली कायम राख्न सफल भएको बताउनुभयो । 
नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले कार्यक्षेत्रभित्रका सदस्यलाई स्तरिकरण गरी वर्गिकरण गर्ने बताउनुभयो । 
नारायणी सामुदायिक वनले वर्षेनी विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले सबै एकजुट भएर छलफलका साथ सामुदायिक वनको नीति निर्माण गर्न आवश्यक रहेको बताउँदै सो कार्य अघि बढाईएको बताउनुभयो । 
कार्यक्रममा वडा अध्यक्षहरु होमनाथ सापकोटा, धामनाथ सापकोटा, सुभाष चापागाईं, प्रकाश सापकोटा, वनका संस्थापक अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, संरक्षणकर्मीहरु एवं विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै ठाकुरप्रसाद पाण्डे, टोलनाथ घिमिरे, प्रेमप्रसाद सापकोटा, गमता पाण्डे भट्टराई, ईश्वरीप्रसाद चापागाईं, नारायण पौडेल, दुर्गाप्रसाद ढकाल, उत्तमप्रसाद बकावल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  
समूहका सचिव उमाकुमारी पाण्डेले २०७९÷०८० का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जसमा वन संरक्षण सम्बद्र्धन तथा वन विकासका कार्यक्रम, संस्थागत विकास, गरिब विपन्न जीविकोपार्जन सुधार कार्यक्रम, वन पैदावार सदुपयोग कार्यक्रम, सामाजिक विकास कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।  
समूहका कोषाध्यक्ष नेत्रराज सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०७९÷०८० को लागि २ करोड ६ लाख ६५ हजार ९ सय १६ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले गरिब विपन्न तथा वन विकासमा ६० प्रतिशत र सामाजिक विकास र संस्थागत विकास तथा अन्यमा ४० प्रतिशतका आधारमा बजेट बाँडफाँड गरिएको बताउनुभयो । 
कार्यक्रममा नारायणी सामुदायिक वनका उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो । वनमा १३ सय ४८ उपभोक्ता रहेको वनका कार्यालय सचिव हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।