
प्रेम क्षेत्री,
देवचुली । देवचुली नगरपालिकाको दलदले–मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाउन नगरपालिकाले निर्देशन दिएको छ । दलदले–कुमसोत सडक विस्तार गर्न लागिएकोले सडक क्षेत्रमा पर्ने त्यस्ता संरचना हटाउन नगर प्रमुख हरिप्रसाद न्यौपानेले आग्रह गर्नुभएको छ । यहाँ २० मिटरको बाटो निर्माण गरिदैँ छ ।
कार्तिक १२ गतेसम्म सडकको क्षेत्र भित्र पर्ने संरचना हटाई जग्गा खाली गर्न नगर प्रमुख न्यौपानेले सार्वजनिक सूचना समेत जारी गर्नुभएको छ । जिल्ला स्तरीय सडकको रुपमा रहेको उक्त सडकको मापदण्ड बमोजिम केन्द्रदेखि दायाँ बायाँ १०/१० मिटरसम्मका संरचना हटाउन भनिएको छ । तोकिएको समयमा त्यस्ता किसिमका संरचना हटाउन अटेरी गर्ने घर जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन वमोजिम कारवाही प्रक्रिया अघि बढाइने उहाँको भनाई छ ।
गण्डकी प्रदेश, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार सडक विस्तार गर्न लागिएको हो । देवचुली नगरपालिका अन्तर्गत दलदले–कुमसोत डवल लेन सडक निर्माण योजनाका लागि २.५ करोड (साढे दुई करोड) रकम विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय, कावासोती मार्फत उक्त मुख्य सडक चौडा पारी आधुनिक शैलीमा निर्माण गर्ने गरी यहि असोज ४ गते बोलपत्र समेत आह्वान गरेको थियो ।
नगर प्रमुख न्यौपानेद्वारा जारी सूचनामा भनिएको छ, “जिल्ला स्तरीय सडकको रुपमा रहेको उक्त सडकको मापदण्ड बमोजिम केन्द्र देखि दायाँ वायाँ १०/१० मिटर सडक अधिकार क्षेत्र भित्र पर्ने घर, टहरा तथा अन्य संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाई सहयोग गरिदिनुहुन सम्बन्धित घर तथा जग्गाधनिहरुमा अनुरोध गरिन्छ ।”
यो सडकखण्ड तीनतले जिल्लाको रुपमा परिचत नवलपुरको पहाडी क्षेत्र जोड्ने मुख्य सडकका रुपमा रहेको छ । विशेषगरी नवलपुरको बुलिङटार र बौदीकाली गाउँपालिकालाई यसले जोड्ने गरेको छ ।