कोमामा रहेकी नेपाल आमा

२०८२ असोज १२ आइतबार १३:५६:०० मा प्रकाशित

नेपाल आमालाई आजकल बेलाबेलामा मुर्छा पर्ने रोग लागेको छ । अहिले त आमा कोमामा छिन् । आफ्ना महत्वपूर्ण अङ्गमा चोट लागेर उनलाई "कामचलाउ" नामको अस्पतालमा पुर्याइएको छ।

छोराहरू बसेर पारिवारिक निर्णय गर्न भनेर बनाइएको बैठकघर भत्किएको छ । निर्णय पुस्तिका पनि जल्नबाट जोगिएन । जेठा बाको घर जले पनि जेठा बा कस्सिएर बाँच्नुभएको छ।

पुराना दलीय सन्ततिबाट चिढिएकी आमा उनीहरूको मुख हेर्न पनि रुचाएकी थिइनन्। अझै जेन्जी दुधे बालबालिकामाथि भएको निर्मम दमनबाट बढी चिन्तित भइन्। यही पीरले बेहोस भएकी आमालाई जेनतेन नेपाली न्यायमुर्ति फुपुको काखमा अस्पतालसम्म ल्याइएको छ।

पुराना चिकित्सकहरू अनुभवी भए पनि आमा बिरामी पर्दै गर्दा खासै वास्ता नगरेकाले नातिनातिनीहरू र शुशिला फुपूलाई उपचार शैलीप्रति शंका लागेको छ। त्यसैले उनीहरूले अन्य योग्य चिकित्सक समूह ल्याई उपचार गराइरहेका छन्। फुपूले हालसम्म ४ जना चिकित्सक छानेकी छिन्। ११ जनासम्म चिकित्सक नियुक्त गरेर आमालाई होशमा ल्याउने काम हुनेछ भनेकी छिन्।

फुपूले विश्वास दिलाएकी छिन् — फागुन २१ गतेसम्म यो टिमले आमा बचाइ राख्न सके, त्यसपछि आउने नातिनातिनीहरूले आमा स्वस्थ बनाउन सक्नेछन्। त्यसपछि फुपू आफ्नै घर फर्कने रे।

अहिले पुराना सन्ततिहरू डराइरहेका छन् — कतै आमाबाट नातिनातिनीहरूले पुरै अंश लिई आफूहरूलाई नाङ्गेझार पार्ने हुन् कि भनेर। अर्कोतिर माइलो, साइलो, राइनो, काइलो आदि सहोदर र सौताने छोराहरू भने नातिनातिनीहरूको अभियान असफल पार्ने योजना बुन्दैछन्।

अस्पताल प्रशासनमा भने "फुलीवाल" छोराले उपचारमा सघाइरहेको छ। तर, भोलि नातिनातिनीहरूले खोजेका चिकित्सकले पनि राम्रो उपचार गर्न सकेनन् भने र उता जेठा–माहिला–सहिला–काइला सयौं भाइहरू अंशबण्डामा झगडा गरिरहे भने, अन्ततः फुलीवाल छोराले नै उपचारको जिम्मा लिनुपर्ने हुन्छ।

आमा बिरामी पर्दा उपचार गर्नुको सट्टा अंशमा झगडा गर्ने कुपुत्र छोराहरुलाई बाख्राजस्तै खोरमा थुनी सजाय दिने समय पो आउने हो कि? यस्तो दुर्दशा देखेर छिमेकीहरू हाँस्नेछन्।

तर यदि फुलीवाल छोरा विवेकी भएर आफ्नै नेतृत्वमा उपचार गरेर आमालाई कोमाबाट उठाउन सक्यो भने र सच्चा मातृस्नेह भएका सपुतहरूलाई स्याहार–सुसार गर्ने जिम्मा दिन सक्यो भने स्थिति सुधारिनेछ।

तर यसको विपरीत, दक्षताको कमीले कपुत छोराहरू र तिनका नातिनातिनीहरूको कलहमै अल्मलिएर छिमेकीलाई गुहार्नुपर्ने अवस्था आयो भने आमाको दुखदायी मृत्यु हुनेछ। त्यसबेला न अंश बाँकी रहनेछ, न वंश। टोपी झिकेर कृया बस्नुपर्ने हुनेछ।

त्यो बेला हाम्रो सगरमाथा, हाम्रो पशुपति, हाम्रो सम्पदा, हाम्रो नेपाल, हाम्रो राष्ट्रिय चन्द्र–सूर्य अंकित झण्डा र हाम्रो अस्तित्व कहाँ पुग्नेछ? त्यतिबेला रोइकराई गर्नुको कुनै अर्थ रहने छैन। पितृहरूको श्राप लाग्नेछ, क्षमा पाउने छैन।

 

शुभचिन्तक नेपाली नागरिक तीर्थराज रिमाल गैंडाकोट ५ ॐशान्ती मार्ग