जेन्जी आन्दोलन : उद्देश्य, प्रभाव र दिशावोध

२०८२ असोज १२ आइतबार १६:३७:०० मा प्रकाशित


नेपाली समाजमा हालै मात्रै व्यापक रूपमा प्रचलनमा आएको शब्द जेन्जी भन्नाले १३–२८ वर्ष उमेर समूहका युवा पुस्तालाई बुझिन्छ । यो पुस्ता मोबाइल, कम्प्युटर, ट्याबजस्ता प्रविधिसँग नजिक, सामाजिक सञ्जाल प्रयोगमा दक्ष, विश्वसँग प्रत्यक्ष सम्पर्क र साक्षात्कार गर्ने, नयाँ ज्ञान र अनुभव आत्मसात् गर्ने पुस्ता हो ।


भाद्र १९, २०८२ मा सरकारले फेसबुक, मेसेंजर, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि यो पुस्ता गहिरो निराशामा पर्यो । लामो समयदेखि चल्दै आएको भ्रष्टाचार, सुशासन नहुँदा बढेको असन्तुष्टि र सञ्चारमाध्यमको बन्देजले जेन्जी युवालाई सडकमा ल्यायो ।

भाद्र २३ (८ सेप्टेम्बर) बाट काठमाडौँसहित देशभर शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भयो । तर सरकारले अराजक शैली अपनाउँदै गोली प्रहार गर्दा २० जना युवाको ज्यान गयो, हजारौँ घाइते भए । पछि मृत्यु संख्या ७२ पुगेको तथ्याङ्क छ ।


प्रारम्भमा शान्तिपूर्ण आन्दोलन रहे पनि त्यसपछि विभिन्न शक्ति र घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शीतल निवासलगायत राष्ट्रिय सम्पदा, कार्यालय र व्यापारीक घरानामा तोडफोड तथा आगजनी भए ।
यो सब कार्य वास्तविक जेन्जी युवाको उद्देश्य नभई घुसपैठको परिणाम हो भन्ने बुझाइ प्रष्ट छ ।

प्रभाव र परिणाम

आन्दोलनकै दबाबमा गृह मन्त्रीले राजीनामा दिए ।

प्रधानमन्त्री पनि कुर्सीमा बसिरहने आधार गुमाएर राजीनामा गर्न बाध्य भए ।

सेनाले सुरक्षाको जिम्मा लिएकोपछि परिस्थिती क्रमशः नियन्त्रणमा आयो ।

नकारात्मक पक्ष

करिब दर्जनौं होनहार युवाको ज्यान गयो, सयौँ परिवार उजाड भए ।

खरबौं मूल्यको सम्पत्ति नष्ट भयो ।

निर्दोष व्यक्तिहरू, संस्थान र व्यापारिक प्रतिष्ठान समेत पीडित भए ।

नागरिकमा ठूलो त्रास फैलियो ।

हजारौँ श्रमिक रोजगारीविहीन भए ।

सकारात्मक पक्ष

युवाको आवाज निर्णायक रूपमा स्थापित भयो ।

भ्रष्ट नेतामाथि जनदबाब बढ्यो, उनीहरूमा त्रास पैदा भयो ।

कुर्सी नागरिकको सेवाका लागि हो भन्ने शिक्षा सम्पूर्ण राजनीतिज्ञलाई मिल्यो ।

सुशासन र भ्रष्टाचारविरुद्ध आशा पलायो ।

राजनीतिक दललाई सच्चिने अवसर मिल्यो ।

युवाको सहभागिता अनिवार्य रूपमा स्वीकारियो ।

उठेका प्रश्नहरू

राष्ट्रिय सम्पदा जल्दा सेनाको भूमिकामा कमजोरी किन देखियो ?

स्थानीय कार्यालय जल्दा नागरिकले बचाउने पहल गर्न नसक्नु किन ?

निर्दोष, समाजसेवी नागरिकको सम्पत्ति नष्ट हुँदा पीडा कसरी सम्बोधन गर्ने ?

सार्वजनिक पद धारण गर्नु नै शापजस्तो बन्नु किन ?

अराजकता बढ्नुमा को जिम्मेवार ?

दिशावोध

यो आन्दोलनले युवाशक्ति भ्रष्टाचारविरुद्ध जागृत भएको प्रमाणित गरेको छ । तर यसलाई दिगो र संस्थागत बनाउन आवश्यक कदमहरू :

सहादत प्राप्त युवालाई सहिद घोषणा र परिवारलाई राहत ।

घाइतेको निःशुल्क उपचार ।

आन्दोलनका दोषीमाथि कारबाही ।

क्षतिको पुनर्निर्माण ।

२०४६ पछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन र भ्रष्टलाई दण्ड ।

संविधानअनुसार निष्पक्ष निर्वाचन र सुशासनको अभ्यास ।


जेन्जी आन्दोलनले छोटो समयमा गहिरो प्रभाव पारेर नयाँ आशा जगाएको छ । देशलाई सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वमा लैजान यो आन्दोलन एउटा टेवा बन्दै जाने अपेक्षा छ ।

???? सहादत प्राप्त सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।

— गोविन्द घिमिरे
युवा समाजसेवी, गैँडाकोट–५, नवलपुर