जितिया पर्वको महत्त्व र परम्परा 

२०७९ असोज २ आइतबार ०७:३०:०० मा प्रकाशित


लक्ष्मीप्रसाद चौधरी 
अध्यक्ष 
थारु कल्याणकारिणी सभा गैँडाकोट नगर समिति 

जितिया पर्व थारु समुदायका महिलाहरुको महान पर्व हो । जितिया भाद्र कृष्ण अष्टमीका दिन मनाईने गरिन्छ । थारु समुदायमा पहिले देखी नै यो पर्व मनाउँदै आईएको छ । यसमा सूर्यपुत्र जितवाहनको पूजा आरधना गरी विवाहित महिलाहरुले आफ्नो छोराहरुको पराकर्मी र दीर्घायुको कामना गर्छन् । त्यस्तै अविवाहित केटीहरुले आफ्ना दाजुभाईको प्रगति र सुखशान्तीको कामना गरी २४ घण्टा सम्म कठोर ब्रत बस्ने गर्छन । 

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । आमा र सन्ततीबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने छ । महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतवाहनको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । थारु समुदायमा झाम्टा नाचका साथ जितिया पर्व मनाइन्छ ।

जितियालाई विजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तीन दिनसम्म महत्त्वका साथ जितिया मनाउँदछन् । भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्दछन् । पारम्परीक गीत, संगितका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ । 

जितिया पर्वमा गाउँका महिलाहरु अघिल्लो दिन डटकट खाने र दोस्रो दिन उपवास बस्ने र तेस्रो दिन फलहार गरी ब्रत समापन गर्छन् । यसमा उपवास बसेको दिन सम्म जीत वाहनको कथा सुन्ने गरीन्छ । 

प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्त्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई (झाम्टा) भनिन्छ । यस समूदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलाई (जतसरी) भनिन्छ । पिपलको हांगा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ जसलाई (दारकाटोनी) भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।

खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नोे सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृ मिठासले भरिपूर्ण छ । धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना ।