अखिल नेपाल किसान महासंघद्वारा किसानका समस्याप्रति नगर प्रमुखलाई ध्यानाकर्षण 

२०७९ भदौ २६ आइतबार १२:२१:०० मा प्रकाशित

गैँडाकोट
अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर पालिकामा ज्ञापन पत्र बुझाएको छ  । यस्तै केन्द्रिय कार्यक्रम अनुसार अखिल नेपाल किसान महासंघ गैँडाकोट नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको छ । किसानका समस्यालाई मध्यनजर गर्दै स्थानिय पालिकाहरुमा किसानका हक अधिकारहरुलाई संरक्षण गर्नुपर्ने माग सहित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीलाई ज्ञापन पत्र बुझाइएको नेकपा एमालेका नगर उपाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । 
नगरपालिका भित्रका कृषकहरुका समस्या र त्यसको समाधानका निम्ति अखिल नेपाल किसान महासंघले राखेका २२ बुँदे माग सहित नगर प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । 
अखिल नेपाल किसान संघले आज देशैभरिका पालिकाहरुमा कृषकका समस्यहरु बारे ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । उपाध्यक्ष कँडेल सहितको टोलीले आइतबार नगर प्रमुखको कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।
अखिल नेपाल किसान महासंघको टोलीले ज्ञापन पत्र बुझाउदै पालिकाको निति तथा कार्यक्रममा कुल बजेटको २० प्रतिशत रकम कृषिमा विनियोजन गर्न माग गरेको छ । यस्तै किसानको पहिचान, किसानको वर्गिकरण, किसानको सुचिकरण गर्नु पर्ने, उन्नत कृषक पाठशाला स्थापना गर्नु पर्ने , स्थानिय सरकारबाट वास्तविक किसानका लागि आवश्यक रासायनिक मल, उन्नत बिउ विजन र किट तथा रोगनाशक विषादीहरुको सहज व्यवस्था मिलाई दिनु पर्ने माग अखिल नेपाल किसान महासंघको रहेको छ ।