यहाँको माटोले परिचित व्यक्ति खोजेको छ, त्यसैले मेरो उम्मेद्वारी रहन्छ – ओमप्रसाद सापकोटा

२०७९ भदौ ११ शनिबार १२:५६:०० मा प्रकाशित

गैँडाकोट । नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य ओमप्रसाद सापकोटाले नवलपुर १(क) बाट उम्मेद्वारी दिने आंकाक्षा व्यक्त गर्नुभएको छ । विजय एफएमसंगको कुराकानीमा नेता सापकोटाले काँग्रेसका अग्रज तथा युवासाथीहरुले अन्ततः मलाई अघि बढ्न आग्रह गरेपछि निर्वाचनमा उम्मेद्वारी दिने निर्णयमा पुगेको बताउनुभयो । पार्टीभित्रका विभिन्न पक्षहरुसंगको छलफल पश्चात उम्मेद्वारी दिने निर्णयमा पुगेको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “केही साथीहरुले यस अघि नै आंकाक्षा राखेको खबर सुनेको छु, तर यस क्षेत्रका विभिन्न पक्षहरुसंगको छलफल पछि मात्र मैले उम्मेद्वारी दिने निर्णयमा पुगेको छु ।” 


सापकोटाले भन्नुभयो “लामो समय राजनीतिक र सामाजिक क्षेत्रमा अनुभव प्राप्त गरेपछि क्रमशः नेतृत्व हस्तान्तरण हुन जरुरी छ ।” अग्रजको सम्मान र युवा विचारको प्रतिनिधित्व गर्ने गरि अघि बढ्ने अठोट लिएको सापकोटाले बताउनुभयो । “सबैको सल्लाह सुझाबलाई शिरोधार्य गर्दै उम्मेद्वारी घोषणा गर्दछु” सापकोटाले भन्नुभयो । नवलपुरलाई नवलपुरको माटोमा भिजेको जनप्रतिनिधि चाहिएको बताउँदै सापकोटाले आफू यही माटोमा हुर्केको, भिजेको र माटोसंग परिचित भएको हुँदा यस क्षेत्रको विकासको लागि उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताउनुभयो । यस क्षेत्रको औद्योगीक क्षेत्रको विकास, योजनावद्ध विकास, युवा रोजगारी, कृषि पकेट क्षेत्रको विकास, दीगो पूर्वाधारहरुको निर्माण लगायतका योजनालाई प्राथमिकतामा राखेर काम गर्ने सापकोटाले बताउनुभयो ।  


प्रदेश तहको संरचनागत विकासको सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगार, स्थानीय विकासका सन्दर्भमा नीतिगत विकासका लागि प्रदेश सरकारमा रहेर काम गर्ने सापकोटाले बताउनुभयो । सापकोटासंग सहकारी संस्थामा रहेर लाखाँै सदस्यमाझ गरिबी निवारणको क्षेत्रमा काम गरेको अनुभव समेत रहको छ । 


निष्ठावान, कर्मशील र अनुभवी राजनीतिज्ञको छवि बनाउनुभएका सापकोटाले वि.सं. २०५४ सालमा गाविस अध्यक्ष हुँदा तत्कालिन गाविसको गुरुयोजना बनाउनुभएको थियो । सोही गुरुयोजना अनुरुप गैँडाकोटले विकासको लय समातेको थियो । खानेपानी व्यवस्थापन, सडक पूर्वाधार, स्वास्थ्य संस्था निर्माणको थालनी, गैँडाकोटमा विजुलीको सुरुवात, खेलकुदको विकासका लागि विभिन्न योजना निर्माण, धार्मिक पर्यटनको विकास, गैँडाकोटका शिक्षण संस्थाहरुको स्थापना र सञ्चालन, नारायणी तटबन्धनको सुरुवात सापकोटा गाविस अध्यक्ष हुँदाबाट नै सुरुवात भएको थियो । 


गैँडाकोटमा सयौँ संस्थाहरुमा स्वयंसेवी भूमिकामा रहेर संघसंस्थाको परिचालन र संस्थागत विकासका लागि समन्वयको लागि काम गरेको सापकोटासंग अनुभव रहेको छ । गँैडाकोट तथा जिल्लामा विपी अध्ययन केन्द्रको स्थापना तथा निर्माणका लागि सापकोटाले नेतृत्वतहमा रहेर काम गर्नुभएको छ । 


२०३१ सालमा बीपी कोइराला वनारसमा रहँदा ओमप्रसाद सापकोटाले नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । सापकोटा वि.सं. २०३६ सालमा बहुदल स्थापनाका लागि आन्दोलनमा होमिनुभएको थियो । वि.सं. २०४२ सालमा सत्याग्रह आन्दोलनमा सहभागि हुँदै २०४६ सालको प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका सापकोटाले निर्वाह गर्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा होमिनुभएका सापकोटा तत्कालिन समयमा आन्दोलनका क्रममा जेलजीवन समेत वितानुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनमा क्रममा नवलपरासीबाट पहिलो पटक सापकोटाले जेल जिवन भोग्नुपरेको थियो । 


 २०४६ सालमा नेपाली काँग्रेस गैँडाकोटको सभापति भइ करिब १४ वर्ष पार्टीको संगठन विस्तारमा सापकोटाले योगदान दिनुभएको थियो ।  नेपाली काँग्रेसभित्र जिल्ला कार्यसमिति सदस्य, जिल्ला कोषाध्यक्षमा रहेर काम गरिसक्नुभएका सापकोटा हाल काँग्रेसको महासमिति सदस्यका रुपमा क्रियाशील रहनुभएको छ ।