विजय परिवारले संभावना खोज्ने पुस्ता जगाउँदै छ – प्रजिअ घिमिरे

२०७९ भदौ १० शुक्रबार २२:००:०० मा प्रकाशित


गैँडाकोट । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले शुक्रबार विजय परिवारका संस्थाहरुको अवलोकन गर्नुभएको छ । विजय परिवारले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भूषालसंग अन्तक्र्रिया समेत गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले समुदायको पुँजी परिचालन गरि समुदायको सामाजिक आर्थिक क्षेत्रमा विजय परिवारका संस्थाले गरेको कार्यप्रति प्रशंंसा गर्नुभएको छ । समाजमा मागि खाने सोच बढ्दै गएको सन्दर्भमा विजय परिवारका संस्थाहरुले गरि खाने सोचलाई विकास गरेको बताउनुभयो । अबको समयमा माग्ने पुस्ता भन्दा पनि संभावना खोज्ने पुस्ताको आवश्यकता रहेको बताउँदै सोही मार्गमा विजय परिवार अघि बढेको आफूले महशुस गरेको घिमिरेले बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले जिल्लामा विपद्का समयमा, कोभिडको जोखिमका समयमा जिल्ला प्रशासनसंग सहकार्य गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहकार्य कायम रहने बताउनुभयो । विजय परिवारका संस्थाहरुका बारेमा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले जानकारी गराउनुभएको थियो । प्रजिअ घिमिरेले विजय परिवारका संस्थाहरु विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी, सामुदायिक रेडियो विजय एफएम, विजय सामुदायिक शिक्षा सदन, विजय लघुवित्त वित्तिय संस्था, विजय फाउण्डेसन, विजय कन्सल्टेन्सी, विजयश्री उपभोक्ता सहकारीका गतिविधिका विषयमा चासो राख्नुभएको थियो । 
 

कार्यक्रममा विकू बचतका अध्यक्ष ओमप्रसाद सापकोटा, विजय सामुदायिक शिक्षा सहकारीका अध्यक्ष खेमराज सापकोटा, विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटा, विजय सामुदायिक शिक्षा सदनका निवर्तमान अध्यक्ष टिकाराम कंडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीका सचिव गिरिराज लम्साल, विकूका सचिव प्रेमप्रसाद सापकोटा राजु, कोषाध्यक्ष कालिदास गौडेल, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय लगायतको सहभागिता रहेको थियो ।