सडकमा भेटिएको लाख रुपैयाँ सहितको झोला फिर्ता

२०७९ श्रावण २१ शनिबार १४:५९:०० मा प्रकाशित

गैँडाकोट । बैंकमा जम्मा गर्न जान लाग्दा हराएको पैसा सहितको रातो झोला फेला परेको छ ।

विजयश्री मिनिमार्टका बजार व्यवस्थापक विष्णु रिमाल मोटरसाइकलमा शिलान्यास चोकबाट विजयचोकतर्फ जाँदै गर्दा शुक्रबार दिउँसो २ बजेर ४२ मिनेटमा भृकुटी चोक नजिक केपी टे«डस अगाडी १ लाख १४ हजार २ सय ७४ रुपैयाँ नगद सहितको झोला राजमार्गमा खसेको थियो । भेट्टाउने ट्रकका सहचालक रहेका गैँडाकोट ७ गैरीका १६ वर्षीया सरोज बाहुनले शनिबार पैसा फिर्ता गरेका हुन् ।

उनले केही रकम खर्च गरेको जनाएका छन् । १ लाख ४ हजार पाँच सय रुपैयाँ फिर्ता लिइएको र बाँकी उपहार स्वरुप भट्टाउने व्यक्तिलाई दिइएको छ । हराएको रकम इमान्दारिताका साथ दिएकोमा विजयश्री उपभोक्ता सहकारी (विजयश्री मिनिमार्ट) का व्यवस्थापक महेश पौडेलले धन्यबाद व्यक्त गरेका छन् । 

उक्त झोला पुरुष व्यक्तिले टिपेको सिसि क्यामेरा कैद भएपनि पहिचान हुन सकेको थिएन । इलाका प्रहरी कार्यालय गैँडाकोटले ट्रक नम्बर र व्यक्तिलाई आशंका गरी अध्ययन गरिरहेको थियो । विजयश्री मिनिमार्टमा संकलित रकम विकू बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्न जाँदा विजयश्री उपभोक्ता सहकारीको नाममा रहेको भौचर सहित पैसा हराएको थियो ।