निरन्तरको वर्षापछि गैँडाकोटका केही क्षेत्र डुबानमा पर्न सुरु

२०७९ श्रावण १७ मंगलबार ०६:२८:०० मा प्रकाशित


गैँडाकोट । निरन्तरको वर्षापछि गैँडाकोटका केही क्षेत्र डुबानमा पर्न सुरु गरेका छन् । अघिल्ला वर्षहरुमा जस्तै यस वर्षपनि गैँडाकोट वाड नं. २ र ४ का केही क्षेत्र डुबानमा पर्न थालेका छन् । 


गैँडाकोटमा भलको दीर्घकालीन निकास नहुँदा बस्ती क्षेत्र सधैँ डुबानमा पर्ने गरेको छ । पानी पर्नासाथ विशेषगरि गैंडाकोट ४ का बासिन्दालाई समस्या बनाएको छ । 


लगातार परेको वर्षाबाट सृजित भल निकास गर्ने गैँडाकोटमा उचित नाला नभएकै कारण डुबानमा परेको हो । गत वर्ष गैँडाकोट नगरपालिकाले केही नालाहरु तथा पानी वहावको लागि कुलोहरु निर्माण गरेको थियो । जसका कारण पानीको वहाव पनि जारी रहेको छ । अविरल वर्षा अझै दिनभर भएको खण्डमा समस्या सिर्जना हुने देखिन्छ । पानीको वहाव रोकिएर समस्या सिर्जना भएको खण्डमा गैँडाकोट नगरपालिकाले आवश्यक कदम चाल्ने गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभएको छ । 


पानी पर्ने बित्तिकै रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको स्थानीयको भनाई छ । गैँडाकोट २ र ४ का बस्तीभित्र भल पसेको छ भने पानी तालिएर हिँडडुल गर्न समस्या सिर्जना भएको छ । विशेष गरी नमुना बोर्डिङ स्कुलदेखि जनक माविबाट भित्र झपर्दी बस्ती, कालिगण्डकी चोक, वडा नम्बर ४ तर्फको मुख्य राजमार्ग छेउका डुबानको समस्या बढी देखिन्छ । अहिले पनि गैंडाकोट क्षेत्रमा पानी परिरहेको छ ।