गैँडाकोटतर्फबाट नारायणी नदीमा झोलुङ्गे पुल

२०७९ श्रावण १४ शनिबार १५:१६:०० मा प्रकाशित

प्रेम क्षेत्री,
गैँडाकोट । गैँडाकोट नगरपालिकाले गैँडाकोट १ स्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको योजना अघि सारेको छ ।

गैँडाकोट १ चालिसे मन्दिरदेखि मजुवा सामुदायिक वन जोड्नेगरी झोलुङ्गे पुल निर्माणको योजना अघि सारेको हो । बिहीबार बसेको गैँडाकोट नगरकार्यपालिका बैठकले पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजनमा पुल निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको छ । २०७९ वैशाखमा निर्वाचित भएपछि जनप्रतिनिधिको यो पाँचौ कार्यपालिका बैठक हो भने यस आर्थिक वर्ष २०७९/०८० को पहिलो बैठक हो । 

गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले गैँडाकोट १ को चालिसे मन्दिरदेखि वडा नं. १ र २ को मजुवा वन क्षेत्रसम्म जान असहज भएकोले उक्त क्षेत्रको बीचबाट बग्ने नारायणी नदिमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गर्ने निर्णय गरिएको बताउनुभयो । यहाँ मजुवा सामुदायिक वनले संरक्षणको काम गर्दै आएको छ । नारायणी पुलदेखी उत्तरतर्फ नदिको बीच भागमा देखिने मजुवा सामुदायिक वन क्षेत्रभित्र वनले आकर्षक पार्क निर्माण गरिरहेको छ । नदिको बहावका कारण वर्षायाममा जान असहज भएपनि हिउँदमा उचित गन्तव्यका रुपमा लिईएको छ । 

त्यस्तै नगरकार्यपालिका बैठकले गैंडाकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ४३७ जना बेरोजगारीहरुको प्राथमिकता क्रम सूची स्वीकृत गरेको छ । कार्यालय विरुद्ध दायर भएका वा भविष्यमा दायर हुन सक्ने मुद्दामा प्रतिरक्षाका लागि प्रचलित कानून बमोजिम आवश्यक काम कारवाही गर्न योजना अधिकृत लिलाधर शर्मालाई अधिकार प्रदान गरेको छ । त्यसैगरी जिल्ला दर रेटलाई नै गैंडाकोट नगरपालिकाको यस वर्षका लागि नगर दररेट कायम गरेको छ ।

नगरपालिकले न्यायिक समितिका २ सदस्यलाई कार्यपालिका सदस्य सरह सुविधा उपलब्ध गराउने भएको छ । न्यायिक समितिमा रहेको उच्च कार्यबोझको मुल्यांकन गर्दै कार्यपालिका सदस्य सरह दोहोरो नपर्ने गरी सुविधा उपलब्ध गराउने नगरकार्यपालिका बैठकले निर्णय गरेको हो । त्यस्तै नगरका स्थायी, करार र ज्यालादारी कर्मचारीलाई दैनिक ७५ रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको छ । 

नगरपालिका अन्तर्गत बालविकास केन्द्रहरु र विद्यालयहरुमा स्वीकृत सरकारी दरबन्दीमा कार्यरत सहयोगी कार्यकर्ता तथा विद्यालय कर्मचारीको लागि संघीय सरकारबाट प्राप्त रकममा नगरपालिकाको तर्फबाट थप ९ हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ । बालविकासका सहयोगी शिक्षकले लागि संघीय सरकारबाट १० हजार र नगरका तर्फबाट ९ हजार गरी १९ हजार रुपैयाँ पाउने भएका छन् । गतवर्ष संघीय सरकारबाट ८ हजार र नगरपालिकाको तर्फबाट ७ हजार गरी १५ हजार पाउँदै आएका थिए । साथै नगरपालिकाको पञ्चवर्षिय आवधिक योजना निर्माण गर्न कार्यपालिकाको कार्यालयलाई निर्देशन दिएको छ ।