गैंडाकोटमा भएको एकदिवसीय स्वास्थ्य शिविरबाट ४ सय ७ जना लाभान्वित
गैंडाकोट । गैंडाकोट आधारभूत अस्पताल, गैंडाकोट ५ मा एकदिवसीय विशेषज्ञ स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । श्री वैकुण्ठनगर टोल विकास संस्थाको आयोजनामा भएको शिविरमा ४ सय ७ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नशा, दाँत (ओरल क्यान्सर) र जनरल फिजिसियन सेवाहरु प्रदान गरिएको थियो ।मातृभूमि टोल विकास संस्था, समुन्नती टोल विकास संस्था, सगरमाथा टोल विकास संस्था, गणेश मन्दिर टोल विकास संस्था, पारिजात टोल विकास संस्थाको सहआयोजनमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा मनकामना अस्पताल प्रा.लि भरतपुर, गैंडाकोट डेन्टल सेन्टर, गैंडाकोट ५ र धौलागिरी मेडिसिन डिस्टी«ब्यूटर्स भरतपुरको प्राविधिक सहयोग तथा गैंडाकोट नगरपालिका वडा नं ५ वडा कार्यालय, हेल्दी होम एण्ड डेरी शप, गैंडाकोट ५, मिडप्वाइन्ट इन्जिनियरिङ्ग कन्सल्टेन्सी तथा मिडप्वाइन्ट बिल्डर्स प्रा.लि गैंडाकोट ५ को आर्थिक सहयोग रहेको थियो ।

हाल विभिन्न रोगहरू देखा परिरहेका र स्वास्थ्य सचेतनाको कमी तथा आर्थिक अभावका कारण धेरैले स्वास्थ्य जाँच गर्न नपाएको अवस्थामा स्थानीय स्तरमै यस्तो शिविर आयोजना गरिएको वैकुण्ठनगर टोल विकास संस्थाका अध्यक्ष खगराज कंंडेलले बताँउनुभएको छ । शिविरमा सहभागीहरूले सेवा सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गरेका छन् ।
