गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको १९औं साधारण सभा सम्पन्र 

२०८२ कार्तिक २२ शनिबार १८:४२:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कार्यक्रम शनिबार संस्थाकै सभाहलमा भएको थियो ।


कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले भूमिगत खानेपानी मात्र नभई अब वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने बताउनुभएको छ । नगर प्रमुख  अधिकारीले कालिगण्कीको पानीलाई ल्याएर गैंडाकोटको १७ वटा वडालाई वितरण गर्ने स्टिमिट गरिएको र लागत बढि पर्न जाने भएकाले अहिलेको अवस्थामा रोकिएको बताउनुभयो ।अधिकारीले योजनालाई भविष्यामा लागतले पुगेसम्म अगाडी बढाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।बढ्दो जनसङ्ख्यालाई मध्ये नजर गर्दै सोही अनुरुप व्यवस्थित गर्न आग्रह गर्दै उहाँले नगरपालिकाको तर्फबाट संस्थालाई आवश्यक पर्ने सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै, गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले दुईवटा, चार लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्की, फिल्टर प्लान्ट, पाइपलाइन विस्तार, फायर हाइड्रेन्ट साथै अन्य कामको लागि खानेपानी मन्त्रालय र खानेपानी विभागबाट करिब ५० करोड रुपैयाँ विनियोजित भएको बताउनुभयो । उहाँले बहुवर्षीय योजना भएकोले यसै वर्षमा काम सम्पन्न गर्नका लागि करिब ३ करोड रुपैयाँ बजेट परेको पनि जानकारी दिनुभयो। अध्यक्ष न्यौपानेले सिङ्गो खानेपानी संरचनालाई पाँच भागमा विभाजन गरी ब्लक–ब्लक बनाइएको बताउनुभयो । उहाँले आगजानी वा दैविक प्रकोप विपत्ति वा क्षति नहोस् भनी ८ ठाउँमा फायर हाइड्रेन्ट सुविधा मिलाइएको जानकारी दिनुभयो । न्यौपानेले स्वास्थ्य र सरसफाईका क्षेत्रमा सचेतना कार्यक्रम का लागि  संस्थाको कार्यक्षेत्रका सरकारी विद्यालयमा पानीको महसुलमा २५% छुट दिएको जानकारी दिनुभयो ।


संस्थाका सचिव केशवराज शर्माले संस्थालाई पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्दै नीति, विधि र प्रविधिमैत्री तरिकाले स्वचालित बनाउन उपभोक्ताहरूको सक्रिय आवश्यकता हुने बताउनुभयो। शर्माले वडा नम्बर १ देखि ९ सम्म झन्डै ७ हजार घरधुरीमा खानेपानीको सेवा पुर्याएको बताउनुभयो । सचिव शर्माले स्वच्छ सुरक्षित पिउने पानी २४सै घण्टा उपलब्ध गराउने, खानेपानी वितरण प्रणालीलाई व्यवस्थित प्रविधिमैत्री बनाउने, सुरक्षित पिउनेपानी साथै सरसफाई सम्बन्धी जनचेतना फैलाउने, भौतिक पूर्वाधार विकास गर्ने जस्ता संस्थाको उद्देश्य रहेको जानकारी दिनुभयो । सचिव शर्माले जलवायु परिवर्तनको प्रभाव बढ्दो , सरोकारवाला निकायको नीति परिवर्तन हुनु, सडक विस्तार, पाइपलाइन पुरानो संरचना हुनु र पानीको सतह घट्नु संस्थाको समस्या र चुनौतीको विषय रहेको पनि बताउनुभयो ।

 

संस्थाका कोषाध्यक्ष श्रीराम सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ३ करोड ३९ लाख ५१ हजार १० रुपैँया ८३ पैसा आम्दानी गरेको जानकारी दिनुभयो। कोषाध्यक्ष सुवेदीले संस्थाको खर्च ३ करोड ३ लाख ६९ हजार ८२२ रूपैयाँ ७ पैसा रहेको बताउनुभयो । कोषाध्यक्ष सुवेदीका अनुसार संस्थाले आम्दानीमा खर्च घटाउँदा कर अघिको खुद बचत ३५ लाख ८१ हजार १८८ रूपैयाँ ७५ पैसा बचत गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थाको वित्तीय लेखा प्रणाली समय अनुकूल व्यवस्थित हुँदै अगाडि बढेको पनि जानकारी दिनुभयो ।

 

संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक सुनिता लम्सालले संस्थाको आन्तरिक लेखा परीक्षण गर्दा देखेका सबल पक्ष र संस्थाको विकासका लागि लेखा समितिका सकारात्मक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष कृष्ण सापकोटाले हालसम्म संस्थाको आफ्नो कार्यक्षेत्र  वडा नं. १ देखि ९ सम्म पुगेको र उहाँले उपभोक्ताको आवश्यकता अनुसार अनुगमन गरी पाइप विस्तारलाई  निरन्तरता दिने पनि जानकारी दिनुभयो । उपाध्यक्ष सापकोटाले नयाँ पुरानो पाइपलाइन विस्तार करिब ३५० किलोमिटर भएको बताउनुभयो।

 

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तेज प्रसाद घिमिरे, वडा नं.१ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, वडा नं. ८ वडा अध्यक्ष प्रेम सापकोटा, जयश्री वनका अध्यक्ष भिम बहादुर कुमाल, जयश्री वनका पुर्व अध्यक्ष टोलनाथ घिमिरे, वडा नं.१ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, समाजसेवी नरेश थापा मगर,उद्योग वाण्ज्यि महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, जनक माविका अध्यक्ष केशव सापकोटा लगायतले शुभकामाना मन्तव्य राख्नुभएको थियो । 

 

कार्यक्रममा आफ्नो कार्यक्षेत्रभित्र रहेका सरकारी विद्यालय जनक नमुना मा.वि, कालिका नमुना मा.वि र विजय आधारभूत विद्यालयलाई पुरस्कृत गरेको थियो ।