हनुमान मन्दिरमा लगाएको ताला खुल्यो 

२०७९ श्रावण ५ बिहीबार १८:३६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ९ थुम्सीमा रहेको हनुमान मन्दिरमा असन्तुष्ट पक्षले लगाएको तालाबन्दी खुलेको छ । मंगलबार भएको कार्यसमिति छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वतमान उपाध्यक्ष सहित केहि असन्तुष्ट पक्षले बुधबार तालाबन्दि गरेका थिए ।

मन्दिरको मुल गेट बन्द भएपछि दर्शनार्थीमा पर्न गएको असुविधा मध्यनजर गर्दै बिहिबार अपरान्ह ४ बजेबाट ताला खोलीएको असन्तुष्ट पक्ष तथा निर्वतमान उपाध्यक्ष बालुराम कुमालले जानकारी दिनुभयो । मन्दिरको कार्यालय रहेको कोठामा भने ताला यथावत रहेको कुमालले विजय एफएमलाई बताउनुभयो । मंगलबार छनौट भएको कार्यसमिति बारे छलफल जारी रहेको र सहमति नभएको बताउनुभयो ।

सहमतिका लागि पार्टीलाई जिम्मा दिइएको र पार्टी छलफलमा रहेको कुमालले बताउनुभयो । हनुमान मन्दिर चक्रघाट समितिको नवौं साधारण सभा एवं पाँचौ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए पनि निर्वाचन समितिले आफुसँग सरसल्लाह नै नगरी एकलौटी ढंगले समिति चयन गरेको कुमालको आरोप छ । बालुराम कुमालसहित सबैको सहमतिमा समिति चयन गरिएको निर्वाचन समितिका संयोजक वेदप्रसाद गौडेलले विजय एफएमलाई बताउनुभयो ।