हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन

२०७९ असार २० सोमबार १३:५७:०० मा प्रकाशित


बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ ।

चतवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उहाँले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पार्नुभएको हो । प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती वनभोज कार्यक्रम गरिएको हो ।

चितवनको सौराहास्थित प्रदेश पर्यटन कार्यालय अवलोकन गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले हात्ती वनभोज कार्यक्रमको पनि शुभारम्भ गर्नुभएको थियो । यही असार १६ गते पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति नामक संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो ।

समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन रु एक लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा पाँच हजार र हात्तीसारेलाई कुची बनाएबापत ज्याला रु १० हजार खर्च भएको छ ।