बजेटमा शिक्षालाई प्राथमिकता दिन पालिकालाई एनसिइको सुझाव 

२०७९ असार ८ बुधबार १७:४२:०० मा प्रकाशित

नवलपुर
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले, नवलपुरका बिभिन्न पालिकामा शिक्षामा कम्तीमा २० प्रतिशत बजेट छुट्टाउन माग गर्दै सुझाव दिएको छ । देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाका प्रमुखलाई भेटेर शिक्षामा ल्याउनुपर्ने कार्यक्रम र बजेटमा शिक्षालाई प्राथमिकता दिन सुझाव पत्र बुझाएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका संयोजक लक्ष्मी गौतमले स्थानीय सरकारले बजेट, निति तथा कार्यक्रममा प्राथमिकता दिन पालिका प्रमुखलाई सुझाव पत्र बुझाएको बताउनुभयो । 
सुझाव पत्र बुझ्दै देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले शिक्षामा अधिकतम बजेट विनियोजन गर्ने सन्र्दभमा छलफलमा रहेको बताउनुभयो । विपन्न वर्गका नागरिकका छोराछोरीले पनि सहज अध्ययन गर्न पाउन भन्नका लागि काम गर्ने बताउनुभयो । 
यस्तै कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुषालले उहाँले शिक्षाका लागि राष्ट्रिय अभियानले गरेको कार्यक्रम र सुझावका लागि धन्यबाद दिनुभएको छ । उहाँले शिक्षा विना विकासको सुरुवात हुन नसक्ने भएकाले महत्व दिएर अगाडी बढ्ने बताउनुभयो । 
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शिक्षामा २० प्रतिशत नघटाई बजेट विनियोजीत गरिने बताउनुभयो । सबैले सहज पढ्न र प्राबिधिक शिक्षाको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर सोहि अनुसारका निति र कार्यक्रम अगाडी सार्ने बताउनुभयो । 
हिजो गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका प्रमुखलाई भेटेर शिक्षामा ल्याउनुपर्ने कार्यक्रम र बजेटमा शिक्षालाई प्राथमिकता दिन सुझाव पत्र बुझाएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले शिक्षा बिकास र शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन पहल गर्दै आइरहेको छ । कोभिडको समय होस वा अन्य समय शिक्षा विकास रसरोकारवालालाई झक्झकाउन बिभिन्न कार्यक्रमहरु पनि गर्ने गर्दछ ।