गैँडाकोटको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा जोड

गँैडाकोट । गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ । गैँडाकोट नगरपालिकाको ११ औँ नगरसभामा उपप्रमुख कोइरालाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई बहुमतले पास भएको छ । गैँडाकोट उपप्रमुख शान्ति कोइरालालले नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी प्रवर्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नीति तथा कार्यक्रमले नगर अस्पताललाई प्रादेशीक अस्पताल, गैँडाकोट स्वास्थ्य चौकीलाई नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीलाई स्तरोन्नती गरिने बताइएको छ ।
गैँडाकोट ३ र १८ का गर्भवती महिलाहरुको सुविधाको लागि नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने कार्यक्रम ल्याइने भएको छ ।
गर्भवती महिलाहरुमा गर्भ परिक्षणको शुल्क निशुल्क गर्दै पायक पर्ने स्थानमा बर्थिङ सेन्टर सञ्चालन गरिने जनाइएको छ । गैँडाकोट १८ मा विगत डेढ वर्ष यता आवश्यक उपकरण पुगेपनि बर्थिङ सेण्टर सञ्चालनमा आउन सकेको छैन ।
नगरबासीको स्वास्थ्यका लागि नागरिक आरोग्य कार्यक्रम, विद्यालयमा नर्स, ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण, बालबालिकाको पोषण सुरक्षा जस्ता कार्यक्रमलाई प्राथमिकता राखिएको छ ।
महिला दिदिबहीनहरुलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने र तालिम पश्चात व्यवसाय सञ्चालनका लागि बिना धितो सुलभ ऋण प्रदान गर्ने भएको छ । महिलाहरुको रोजगारी, वित्तीय पहुँच र सम्पत्ती माथिको नियन्त्रण र स्वामित्वमा सहजीकरणका लागि महिलासंग उपमेयर कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गैँडाकोटका क्षेत्रीय रंगशाला, विपी खेलमैदान, सुनवर्षा खेलमैदानको विकासका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
जनप्रतिनिधिहरुले निशुल्क शिक्षाको एजेण्डाका साथ निर्वाचित भएका थिए । गैँडाकोटमा निशुल्क शिक्षाका लागि अध्ययन कार्यदल बनाइ क्रमशः कार्यन्वयनमा जाने बताइएको छ । निशुल्क शिक्षा प्रदान गर्ने सन्दर्भमा कार्यक्रमले प्रष्ट रुपमा बोल्न सकेको देखिदैन ।
शिक्षा क्षेत्रमा गर्न सकिने सामान्य कुरामा पनि कार्यक्रमले स्पष्ट बोल्न सकेको छैन । स्थानीय पाठ्यक्रम निर्माण गरि क्रमशः लागू गर्दै लगिने भनिएको छ । स्थानीय पाठ्यक्रम लागू गर्ने छौँ भन्न कार्यक्रममा शंकोच गरिएको छ ।
नेपाल विश्वविद्यालय स्थापनाको कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । सीमान्तकृत दलित, जनजाति, बाबुआमा गुमाएका, विपन्न क्यान्सर रोगी, मृगोैला रोगी, मुटुरोगीका सन्ततीहरु तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक उन्नयनका लागि अनुदान दिने बताइएको छ ।
गैँडाकोटलाई विद्यावत शहर बनाउने पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
विदेशबाट फर्केका नेपाली नागरिकहरुले घरेलु तथा साना उद्योग सञ्चालन गरि १० जना भन्दा बढी स्थानीय नागरिकहरुलाई रोजगरि दिएम २ वर्षसम्मको व्यवसाय करमा ५० प्रतिशत कर छुट दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।
युवा जाँगर र उद्यमशीलताको लागि २५ प्रतिशत आफ्नै, २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋणको व्यवस्था गरिने भएको छ ।
शहरी सौन्दर्यका लागि एक घर एक विरुवा र एक वडा एक हरियाली पार्क जस्ता पुरानै कार्यक्रमलाई निरन्तरतामा राखिएको छ ।
यसैगरि गैँडाकोटका विभिन्न वडाको बाढी तथा डुबानको समस्या प्रथम आर्थिक वर्ष भित्रै समाधान गरिने बताइएको छ ।
वार्षिक पेशा, व्यवसाय, कर, शुल्क, दस्तुर असुल गर्ने कार्यलाई थप प्रभाबकारी बनाइने छ ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको सम्बोधन गर्दै असार १० गते बजेट सावर्जनिक हुनेछ ।